Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौ,माघ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन पहिलो साता राजीनामा दिने तयारी गरेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ । आफ्नो नेतृत्वमा सबै निर्वाचन सम्पन्न भएको भन्दै निर्वाचन आयोगले राष्ट्रपतिलाई संघीय संसद्को अन्तिम नतिजा बुझाएलगत्तै उनले राजीनामा दिने तयारी गरेका छन् । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त नगरेको भन्दै आलोचना भइरहेको बेला राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएपछि राजीनामा दिने कि सबै नतिजा आएपछि राजीनामा दिने भन्ने विषयमा प्रधानमन्त्री देउवाले छलफल गरेका थिए ।
सबै परिणाम सार्वजनिक भएपछि राजीनामा दिन सुझाव आएपछि आयोगले अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएलगत्तै देउवा राजीनामा दिने मनस्थितिमा रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्रीले राजीनामा दिने विषयमा पार्टी नेताहरूसँग मंगलबारदेखि नै छलफल गरिरहेको वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने सबै निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पूरा गरेपछि राष्ट्रको नाममा सम्बोधन गरेर राष्ट्रपतिलाई राजीनामा दिने तयारी गरेको सचिवालय स्रोतले जनाएको छ । बुधबार राजीनामा र राष्ट्रका नाममा दिइने सम्बोधनको विषयमा प्रधानमन्त्री देउवा छलफलमा व्यस्त थिए । निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम नतिजा चाँडोमा ३ फागुन र ढिलोमा ५ फागुनमा राष्ट्रपतिलाई बुझाउने तयारी गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन आयोगले परिणाम राष्ट्रपतिलाई बुझाएलगत्तै प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गरेका हुन् । देउवाले कार्यभार सम्पन्न भएको भन्दै राजीनामा दिने सोच बनाएका हुन् । माओवादी केन्द्रसहितका दलहरूको समर्थनमा गत २३ जेठमा प्रधानमन्त्री निर्वाचित देउवा प्रधानमन्त्रीका रूपमा चौथो कार्यकाल पूरा गर्दै छन् । देउवाले चौथो कार्यकालमा भने स्थानीय तह निर्वाचनको दुई चरण र प्रतिनिधिसभा तथा प्रदेशसभा र राष्ट्रिय सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरे । स्थानीय तहको पहिलो चरणको निर्वाचन भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सम्पन्न गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.