![]()
एजेन्सी,माघ ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको खेलमा सोसोलाई ४ – १ ले हराउदै पिएसजीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । सोसोको घरेलु मैदानमा अन्तिम समय १० खेलाडीमा सीमित बनेको पिएसजीलाई जित दिलाउन एन्जल डी मारियाले ह्याट्रिक गरे ।
यस्तै एडिसन काभानीले एक गोल गरे । सोसोका फ्लोरिन मार्टिनले एक गोल फर्काए । पहिलो हाफको पहिलो मिनेटमा नै डी मारियाले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा सोसोका मार्टिनले गोल गरेपछि खेल १ – १ को बराबरीमा पुगेको थियो । तर, २७ औं मिनेटमा काभानीले गोल गरेपछि पहिलो हाफमा पिएसजी २ – १ ले अघि रह्यो । दोस्रो हाफमा पिएसजीले थप दुई गोल गर्दै सहज जित निकाल्यो । खेलको ५८ औं मिनेटमा डी मारियाले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ३ – १ को अग्रता दिलाए ।
त्यसपछि ६२ औं मिनेटमा डी मारियाले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेपछि पिएसजीले ४ – १ को सहज जित निकालेको हो । खेलको ९० औं मिनेटमा गोल रक्षक केभिन ट्रापले रातो कार्ड पाएपछि अन्तिम केहि समय पिएसजी १० खेलाडीमा सीमित भएको थियो । गोलरक्षक ट्राप रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि पिएसजीले डिफेन्डर डानी अल्भेसलाई गोलकिपर बनाएको थियो ।


