![]()
काठमाडौं । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू खेल्न नेपाली टोली नामिविया पुगिसकेको छ । नेपालले नामिबिया पुगेर अभ्यास समेत गरिसकेको छ ।
नेपाली टोली दोस्रोपटक नामिविया पुगेको हो। यसअघि सन् २०१५ मा पनि नेपाल डिभिजन टू खेल्न नै नामिविया पुगेको थियो।
त्यसपटक खेलेका कप्तान पारस खड्कासहित ८ खेलाडी यसपटक पनि नेपाली टोलीमा यथावत छन्। अन्तिम १४ सदस्यीय नेपाली टोलीमा रहेका बाँकी ६ खेलाडी भने पहिलोपटक नामिविया पुगेका हुन्।
जसमा भर्खरै आइपीएलमा दिल्ली डेयरडेभिल्सले अनुबन्धन गरेका सन्दीप लामिछाने, यू १९ राष्ट्रिय टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीसँगै अनिल कुमार शाह, रोहित कुमार पौडेल छन्। यस्तै विकेटकिपर ब्याट्सम्यान दीलिप नाथ र फास्ट बलर ललितसिंह भण्डारी छन्।
यी ६ मध्ये यू १९ का दुई स्टार अनिल र रोहितले मात्र नेपालको लागि डेब्यु गर्न बाँकी छ।
सन्दीप र दीपेन्द्रले घरेलु मैदानमा खेल्दै नेपालको लागि डेब्यु गरेका थिए। रोहित र अनिल पहिलो पटक नेपाली सिनियर टोलीमा परेका हुन्।


