![]()
बार्सा,माघ ।
क्याटलोनिया डर्बीमा बार्सिलोनाले बराबरी खेलेको छ । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर बार्सिलोनाले स्पानियोलसँग १–१ को बराबरी खेलेको हो । स्पानियोलको घरेलु मैदानमा भएको खेलमा भाल्भेल्र्डेले लिओनल मेस्सीलाई बेञ्चमा राखेका थिए । पहिलो हाफमा फिलिप काउटिन्होको प्रहार बारमा लागेर फर्कियो ।
खेलको ६६ औं मिनेटमा जेरार्ड मोरेनोको गोलबाट स्पानियोलले अग्रता लियो । तर, निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी छँदा जेरार्ड पीकेले गोल गरे । सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेका लिओनल मेस्सीको फ्रि किकमा उनले हेडगोल गरेका हुन् ।
दोस्रो हाफको खेलका क्रममा भारी वर्षा भएको थियो, जसका कारण खेल्न आफ्ना खेलाडीलाई केही असहज भएको भाल्भेर्डेले बताए । यो बराबरीसँगै बार्सिलोनाले २२ खेलको अपराजित क्लब रेकर्ड बनाएको छ ।
यसअघि पेप ग्वार्डिओला हुँदा २१ खेलमा अपराजित थियो । आइतबार नै भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई १–० ले हराएको छ । र, बार्सिलोनाको अग्रता ९ अंकमा झारेको छ । तर, चौथो स्थानमा रहेको रियल मड्रिड भने १९ अंकले पछाडि छ । लिग लिडर बार्सिलोनाको २२ खेलबाट ५८ अंक छ । दोस्रो स्थानमा रहेको एथ्लेटिकोको ४९ अंक भएको छ भने ४० अंकसहित भ्यालेन्सिया तेस्रो र ३९ अंकसहित रियल मड्रिड चौथो स्थानमा छ । यद्यपि रियलले एक खेल कम खेलेको छ ।


