![]()
काठमाडौ,माघ ।
नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया भित्रभित्रै जटिल मोडमा पुगेको छ । नेकपा माओवादी केन्द्रका एकजना प्रभावशाली नेताले प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए नेकपा एमालेसँगको एकता असम्भव भएको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि आइतवार चितवन पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग कुराकानी गरेका सचिवालय सदस्य नारायण दाहालले एउटा पद पनि छाड्न एमाले अनिच्छुक देखिएको जनाएका छन्।
माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले दुई पार्टीबीच एकता हुनुपर्ने तर एउटा पार्टी अर्को पार्टीमा विलय हुननसक्ने टिप्पणी गर्नुभयो । पुनले भनेः‘सरकार र पार्टीको नेतृत्व एक–एकजनाले गर्नु स्वाभाविक हो। मेरो विचारमा पनि त्यो भएन भने त के सम्भव हुन्छ र ? एकता भनेको पार्टी विलय त होइन नि ।
ओली र प्रचण्डबीच एउटाले सरकार र अर्कोले पार्टी नेतृत्व गर्ने भद्र सहमति भएको उनको दाबी छ। प्रचण्ड स्वयम्ले त्यो कुरा सार्वजनिक गरेका छैनन्।
चुनावपछि एकता गर्ने घोषणा गरेका उनीहरुबीच पटक—पटक एकल वा सामूहिक छलफल भए पनि उनीहरु तत्काल एकताको विन्दुमा पुगिसकेको देखिएको छैन। बरु दिन दिनै झन् अन्योल बढेको पाइन्छ। तर दुवै पक्षका नेताले एकता हुने बताइरहेका छन्।


