![]()
बीबीसी । उत्तर कोरियाले अन्तर्रा्ष्ट्रिय प्रतिबन्धहरु लगाइएको भएपनि विभिन्न सामग्रीहरु निर्यात गरेर अघिल्लो वर्ष २० करोड डलर आम्दानी गरेको राष्ट्रसंघको एउटा प्रतिवेदनले देखाएको छ ।
चीन, रुस र मलेसिया सहित कैयौँ देशहरूले उत्तर कोरियाबाट हुने निर्यात रोक्न नसकेको विज्ञहरुद्वारा तयार उक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार उत्तर कोरियाले सिरिया र म्यानमारमा हतियार पठाएको थियो ।
प्योङयाङ विरुद्ध अमेरिका, राष्ट्रसंघ र युरोपेली संघले उसका परमाणु तथा व्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमहरूलाई लिएर प्रतिबन्ध लगाएका छन् । तर उक्त प्रतिवेदनमा उत्तर कोरियाले, “ती प्रस्तावहरुले प्रतिबन्ध लगाएका लगभग सबैजसो सामग्री जनवरी र सेप्टेम्बर २०१७ का बीचमा उत्तर कोरियाले नियमित रुपमा निर्यात गरिरहेको“ जनाइएको छ ।
सो प्रतिवेदनले नाम उल्लेख नगरी कैयौँ बहुराष्ट्रिय तेल कम्पनीहरुमाथि उत्तर कोरियालाई पेट्रोलियम पदार्थ विक्रि गर्न खेलेको भनिएको भूमिकाका लागि अनुसन्धान जारी राखिएको जनाएको छ।
प्रतिबन्ध लगाइए पनि चीन, मलेसिया, दक्षिण कोरिया, रुस र भियतनामले प्रतिबन्धहरु उल्लंघन गर्दै उत्तर कोरियाबाट कोइला खरिद गरेको प्रतिवेदनमा उल्लेख छ।
उक्त प्रतिवेदनमा उत्तरले सिरियालाई रासायनिक अस्त्र निर्माण गर्न मद्दत गरिरहेको र म्यानमारलाई ब्यालेस्टिक क्षेप्यास्त्र उपलब्ध गराएको जनाइएको छ । सिरियाली अधिकारीहरुले अनुगमनकर्ताहरुलाई खेलकुदसँग सम्बन्धित सामग्रीमात्रै उत्तर कोरियाबाट भित्र्याइरहेको जानकारी दिएका थिए।
राष्ट्रसंघका लागि म्यानमारका राजदूतले उत्तर कोरियासँग हातहतियारसँग सम्बन्धित केही पनि खरिद नगरिएको बताएका छन्।


