![]()
एजेन्सी,माघ ।
लिगको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा पराजित भएको छ । लिगको पाँचौ स्थानमा रहेको टोटनह्यामसँग युनाइटेड २–० गोलअन्तरले पराजित भएको हो । टोटनह्यामको घरेलु मैदान विम्बलीमा बुधबार राति भएको खेलमा टोटनह्यामले युनाइटेडमाथि सहज जित निकालेको हो । टोटनह्यामलाई जित दिलाउन क्रिस्टियन इरिक्सेनले गोल गरे । एक गोल भने युनाइटेडका फिल जोनेसले आत्मघाति गोल गरेपछि टोटनह्यामले उपहार पाएको थियो ।
खेल सुरु भएको ११ सेकेन्डमा नै इरिक्सेनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । सुरुवातदेखि नै दबाबमा खेलेको युनाइटेडले खेलको २८ औं मिनेटमा आत्माघाति गोल गर्न पुग्यो । फिल जोनेसले आफ्नै पोष्टमा आत्मघाति गोल गरेपछि म्यान्चेस्टर युनाइटेड २–० गोलले पछि परेको थियो ।
पहिलो हाफमा २–० गोलअन्तरले अघि रहेको टोटनह्यामले दोस्रो हाफमा गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन । यता, युनाइटेडले पनि पटक पटक गोल गर्ने अवसर खेर फालेको थियो । बुधबार राति नै भएको अर्को खेलमा लेस्टर सिटी एभर्टनसँग २–१ गोलअन्तरले पराजित भएको छ । पहिलो हाफसम्म २–० गोलअन्तरले पछि परेको लेस्टरले दोस्रो हाफमा पेनाल्टीबाट गोल गरेपनि एभर्टनलाई रोक्न भने सकेन ।


