![]()
काठमाडौं । ललितपुर प्याट्रिएट्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको प्लेअफमा छानिएको छ । इपिएल क्रिकेटको अन्तिम लिग खेलमा पोखरा राइनोजलाई ६ विकेटले पराजित गर्दै ललितपुरले प्ले अफमा स्थान बनाएको हो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य ललितपुरले पूरै २० ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्यो । ललितपुरको जितमा भारतीय खेलाडी जयकिशन कोल्सावालाले ४५ बलमा ४ चौका र ३ छक्कासहित ५६ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३२ रन जोडेको थियो । पोखराको लागि सुनील धमलाले अविजित ७० रन बनाए ।
जितसँगै ललितपुर ५ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा रहदै प्ले अफमा पुगेको हो । अब ललितपुरले पहिलो एलिमिनेटरमा बुधबार पोखरा राइनोजसँग खेल्नेछ । चौथो स्थानको पोखरा पनि ४ अंक जोडी प्ले अफमा पुगेको छ । एलिमिनेटरमा विजेता हुने टोलीले फाइनल प्रवेशको लागि पहिलो क्वालीफायर्समा पराजित हुने टोलिसँग खेल्नेछ ।
बुधबार नै हुने पहिलो क्वालिफायर्समा विराटनगर वारीवर्स र भैरहवा ग्लाडिएटर्सबीच प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताबाट काठमाडौँ किंग्स इलाभेन र चितवन टाइगर्स भने बाहिरिएका छन् ।


