![]()
चितवन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतालाई लिएर सम्बन्ध चिसिएको शंका बढेकाबेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले त्यस्तो कुनै शंका नगर्न आग्रह गरेका छन ।
पार्टी एकता संयोजन समितिको बैठकसमेत छोडेर दाहाल चितवन, भैरहवा लगायतका क्षेत्रमा पुगेपछि एमालेसंग दूरी बढेको बिश्लेषण गरिएको थियो । राष्ट्रिय राजनीतिका गम्भीर मुद्दालाई पन्छाएर टुक्रे कार्यक्रममा सहभागी हुन दाहाल राजधानी बाहिर गएपछि पार्टी एकता मात्र होइन सरकार निर्माणकै समीकरणमा फेरबदल आउनेसमेत अनुमान गरिएको थियो ।
पार्टी भित्र र पार्टी बाहिरबाट दबाब आएपछि अध्यक्ष दाहालले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको प्रष्टीकरण दिएका छन ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीसंग सल्लाह गरेर नै आफू जिल्ला आएको बताएका हुन । उनले कुनैपनि हालतमा पार्टी एकता हुने अडान समेत प्रस्तुत गरे ।


