![]()
चितवन । राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणि प्रणाली वा बहुमतिय प्रणाली भन्ने विवाद भैरहेकाबेला बामगठबन्धनका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल संक्रमणीय प्रणाली सम्भव नभएको तर्क गरेका छन ।
चितवनमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेले लिएको अडानलाई बल पुग्ने गरी बहुमतिय प्रणाली नै राष्ट्रियसभा गठनका लागि उपयुक्त हुने बिचार व्यक्त गरे । राष्ट्रियसभामा नेपाली कांग्रेसको प्रतिनिधित्व गराउँदा राम्रो हुने बताएपनि उनले कसरी कांग्रेसलाई समेटने भन्ने बिषयमा भने केही बताएनन ।
माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकले भने केही दिनअघि राजनीतिक सहमतिका आधारमा अध्यादेशको बिषय टुंगो लगाउनुपर्ने निर्णय गरेको थियो । माओवादीका अन्य नेताहरुले भने राष्ट्रपति कार्यालयमा रहेको हालकै अध्यादेश पारित गर्दा पनि कुनै फरक नपर्ने बताउने गरेका छन ।
कार्यक्रममा अध्यक्ष दाहालले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिए ।


