![]()
बिबिसि । दक्षिणी फिलिपिन्समा आँधीका कारण कम्तीमा १०० जनाको ज्यान गएको छ भने दर्जनौं हराइरहेका छन् ।
टेम्बिन नामक आँधीले मिन्डनाउ टापुका कैयौँ भागमा बाढी तथा पहिरो निम्त्याएको छ । टुबोड र पिआगापो शहर सबैभन्दा बढी प्रभावित भएका छन् जहाँ कैयौँ घरहरु ढुङ्गाले पुरिएका छन् ।
पश्चिमतर्फ थप अगाडि बढ्नुअघि प्रतिघण्टा ८० किलोमिटर वेगको उक्त आँधी मिन्डनाउ टापु पार गर्दै दक्षिणी पालावनतर्फ बढिरहेको छ ।
फिलिपिन्स नियमितजसो विध्वंसात्मक आँधीको चपेटामा पर्दै आए पनि मिन्डनाउ खासै प्रभावित हुने गरेको थिएन । टुबोडका एकजना प्रहरी अधिकारीले उक्त शहरमा कम्तीमा १९ जनाको मृत्यु भएको बताएका छन । उनले भने, “नदीमा पानी बढ्यो र अधिकांश घरहरु बगाएर लग्यो। त्यहाँ अहिले गाउँ नै छैन।“
टुबोडदेखि १० किलोमिटर पूर्वमा पर्ने पिआगापोमा कम्तीमा १० जनाको मृत्यु भएको छ । बाँकी दुईवटा शहरमा थप मानिसहरुको मृत्यु भएको बताइएको छ ।
एक हप्ताअघि काइ टाक नामक आँधीका कारण मध्य फिलिपिन्समा दर्जनौं मानिसको ज्यान गएको थियो ।


