Breaking News.... EverestOnlineKhabar
June 24, 2026

यी हुन् समानुपातिकबाट एमालेमा छानिने भाग्यमानीहरु….(नामावलीसहित)

Loading

काठमाडौ,पौष ।
मतगणना सकिएलगत्तै निर्वाचन आयोगले समानुपातिकबाट एकसय १० जना निर्वाचित गर्ने प्रक्रिया सुरु गरेको छ । एक सय १० सदस्यीय समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ६÷६ जना सांसद पाएका छन् । निर्वाचन आयोगले एक हप्ताभित्र दलले पाएको मतका आधारमा समानुपातिकको सिट औपचारिक रुपमा निर्धारण गर्ने जनाएको छ ।
संविधानले हरेक दलले पाएको सिटको एक तिहाई महिला हुनुपर्ने व्यवस्था गरेको छ । प्रत्यक्षबाट कम महिला निर्वाचित भएकोले अहिलको अवस्थामा एक तिहाई महिला समानुपातिकबाट पुर्याउनुपर्ने बाध्यता दलहरुलाई छ । समानुपातिकबाट महिला निर्वाचित गर्दा दलहरुले बुझाएको सूचिको क्रम संख्या फेरबदल गर्न नपाइने प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७४ मा उल्लेख गरिएको छ ।
त्यस्तै कानुनमा उल्लेख भएको सातवटा कल्स्टरको अनुपातअनुसार निर्वाचित गर्नुपर्ने बाध्यता पनि छ । जसमा खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाती २८.७ प्रतिशत, थारु ६.६ प्रतिशत, दलित १३.३ प्रतिशत, मधेसी १५.३ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४.३ प्रतिशत हुनुपर्छ ।
यही सिद्धान्तअनुसार एमालेबाट समानुपातिकमा पर्नेहरु–
एमाले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरी एकसय २१ सिट जित्दै पहिलो दल बनेको छ । एकसय २१ सिटको एक तिहाई ४० जना महिला एमालेबाट संसदमा निर्वाचित हुनै पर्छ । एमालेबाट झापा–२ मा पवित्रा खरेल र स्याङ्जा–१ बाट पद्मा अर्यालले मात्र चुनाव जितेकाले थप ३८ जना समानुपातिकबाट चयन गर्नुपर्छ । जसले गर्दा एमालेको समानुपातिकको बन्द सूचिमा भएका जम्मा ३ जना पुरुषले मात्र सांसद बन्ने अवसर पाउने भएका छन् । तीनजना पुरुष छनौट गर्दा सातवटै कल्स्टरको पहिलो नम्बरमा रहेका उम्मेदवार मध्येबाट छनौट हुनेछन् । जहाँ खस आर्यको पहिलो नम्बरमा रहेका मुकुन्द न्यौपाने, आदिवासी जनजाती कोटाको पहिलो नम्बरमा रहेका विजय सुब्बा, थारु कोटाको पहिलो नम्बरमा रहेका मझिलाल थारु, दलितको पहिलो नम्बरमा रहेका रामप्रित पासवान, मधेसी कोटाको पहिलो नम्बरमा रहेका मोतिलाल दुगड, मुस्लिम कोटाको पहिलो नम्बरमा रहेका समिम मियाँ अन्सारी र पिछडिएको क्षेत्रको पहिलो नम्बरमा मोहन बानियाँ रहेका छन् । एमाले स्रोतका अनुसार न्यौपाने, सुब्बा, पासवान र दुगडमध्ये तीनजनालाई पार्टीले चयन गर्ने संभावना बढी छ ।
त्यस्तै ३८ जना महिलाको छनौट पनि यही सूत्रका आधारमा हुनेछ । जसअनुसार आदिवासी जनजातिबाट ११ जना महिला पठाउनुपर्छ । एमालेले बुझाएको बन्द सूचिको महिला क्रमसंख्या ११ सम्मका उम्मेदवार निर्वाचित गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएकाले थममाया थापा मगर, डा.शिवमाया तुम्बाहाम्झे, सुजिता शाक्य, रामकुमार झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नविना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, विनादेवी बूढाथोकी मगर, रणकुमारी बलमपाकी मगर चुनिने छन् । सुजिता शाक्य एमाले सचिव शंखर पोखरेल र विना श्रेष्ठ नेता कृष्णगोपाल श्रेष्ठकी श्रीमती हुनुहुन्छ ।
त्यस्तै खस आर्यबाट राधा ज्ञावली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणीकुमारी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मेनाकुमारी भण्डारी, तिर्था गौतम र शर्मिला कार्की निर्वाचित हुनेछन् ।
त्यस्तै थारु कोटाबाट एमालेले दुईजना महिला निर्वाचित गर्नुपर्छ । महिलातर्फ पहिलो नम्बरमा रहेकी शान्ता चौधरी र दोस्रो नम्बरमा रहेकी लक्ष्मीकुमार चौधरीले मात्र सांसद बन्ने अवसर पाएका छन् । दलित कोटाबाट एमालेले पाँचजना महिला पठाउनुपर्छ । बन्द सूचिको क्रमसंख्या पाँचसम्म रहेका निरादेवी जैर, विमला विश्वकर्मा, विमला विक, पार्वतीकुमारी विसुङ्गे र सानु शिवाले सांसद बन्ने निश्चित भएको छ ।
एमालेले मधेसी कोटाबाट ६ जना महिला निर्वाचित गर्नुपर्छ । यो कोटाबाट जुलीकुमारी महतो, डा. पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झा, सिरताकुमारी गिरी र सीता यादव निर्वाचित गर्नुपर्छ । यस्तै मुस्लिम कल्स्टरबाट दुईजना मात्र महिलाले अवसर पाउनेछन् । कालिला खान र समिना हुसेन सांसद बन्नेछन् । पीछडिएको कोटाबाट पनि दुई जना मात्र महिला सांसद बन्नेछन् । एमालेले निर्वाचन आयोगमा बुझाएको बन्द सूचिअनुसार आशाकुमारी विक पीछडिएको क्षेत्रबाट सांसद बन्नुहुनेछ । बन्द सूचिमा पीछडिएको क्षेत्रबाट दोस्रो महिलाको नाम उल्लेख नभए पनि त्यसै कल्टरबाट अर्की महिला निर्वाचित हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed