Breaking News.... EverestOnlineKhabar
April 22, 2026

Loading

मनाङ,मंसिर ।
एमालेका पोल्देन छोपाङ गुरुङ कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पोल्देनले २ हजार ३ सय मतका साथ विजय सुरक्षित गर्दा कांग्रेसका टेकबहादुर २ हजार २१ मतमा रोकिए ।
प्रदेशसभातर्फ भने क मा कांग्रेसका चिन्तबहादुर घले बिजयी भएका छन् भने खमा एमाले समर्थित स्वतन्त्र उम्मेदवार राजिव गुरुङ उर्फ दिपक मनाङ्गे विजयी भएका छन् । मनाङको राजनीतिक इतिहासमै एमालेको यो पहिलो विजय हो ।
मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पोल्देन छोपाङ गुरुङ पेशेवर राजनीतिकर्मी होइनन् । ०७० सालको संविधानसभा निर्वाचनपछि एमालेमा प्रवेश गरेका पोल्देन मनाङका स्याउ कृषक हुन् । उनले एशियाकै उत्कृष्ट स्याउ फारम चलाएर मनाङमा ख्याती कमाएका छन् । होटल व्यवसाय समेत गर्ने पोल्देन पार्टीका जिल्ला अध्यक्ष पनि हुन् । यसपटक उनका भाइ त्रिपल पी गुरुङले टिकट पाउने चर्चा थियो, तर टेकबहादुरलाई हराउन भाइले दाइलाई अघि सारे ।
चुनावको केही समयअघि ठमेलका मर्स्याङ्दी होटलमा भेटिएका पोल्देनले आफू राजनीतिक कार्यकर्ताभन्दा पनि कृषक र व्यवसायी भएको बताएका थिए । मनाङमा टेकबहादुर गुरुङको शासन ढाल्न आफूहरु एमाले भएको बताएका थिए उनले ।
संसदीय चुनावको इतिहासमै रेकर्ड राख्ने जिल्ला पनि मनाङ हो । ०५६ सालको आम निर्वाचनमा कांग्रेसका पाल्तेन गुरुङ निर्विरोध निर्वाचित भएको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । ०६४ सालको पहिलो संविधानसभालाई अपवाद मान्ने हो भने मनाङमा कांग्रेसले सधैं जित्दै आएको छ ।
०४८, ०५१ र ०५६ का संसदीय चुनावमा एमालेले मनाङमा उम्मेदवार पनि पाएको थिएन । ०६४ को पहिलो संविधानसभा चुनावमा एमालेले पहिलोपटक मनाङमा उम्मेदवार उठाएको थियो, जसले ४७ भोट पायो ।
०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेको मत ४७ बाट बढेर ८० पुग्यो । तर ०७० को चुनावको ८० भोट ०७४ को स्थानीय चुनावमा आउँदा बढेर १३ सय कटाउन सफल भएको एमाले प्रतिनिसभा र प्रदेशसभा निर्वाचनमा आउँदा विजयको इतिहास रच्न सफल भयो ।
०७० सालको चुनावमा कांग्रेसका टेकबहादुर गुरुङसँग ३ सय मत अन्तरमा पराजित राप्रपाका त्रिपल पी गुरुङको समूह नै एमाले प्रवेश गर्‍यो । मनाङमा त्रिपल पी र उनका दाजु पोल्देन छोपाङ गुरुङहरुले एमालेको नेतृत्व गरे । यसमा टेकबहादुर गुरुङबाट पीडित भएका कांग्रेसहरु पनि सहभागी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed