![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा आर्थिक अनुशासनहिनता बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । महालेखा परीक्षक कार्यालयको नयाँ भवन शिलान्यास गर्दै राष्ट्रपति भण्डारीले आर्थिक अनुशासनहीनता, भ्रष्टाचार र गैरजवाफदेही बढेकाले बिश्वसामु नेपालको शाख गिरिरहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले विकासका लागि छुट्याइएको बजेट समेच खर्च नभएर फ्रिज हुनु असक्षमताको पराकाष्ठ भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो मुलुकको प्रशासनिक असक्षमताको सूचक हो ।’
सार्वजनिक निकायको बेरुजु ४ खर्ब रुपैयाँ पुगिसकेको छ । सरकारी निकायमा आर्थिक अनुशासनहिनता, भ्रष्टाचार, गैरजवाफदेहिता र अनियमितता बढ्दा त्यसले आमजनतामा सरकार र सरकारी संयन्त्रप्रति वितृष्णा बढाएको उहाँले बताउनुभयो ।
संविधानको व्यवस्था अनुरुप राज्यको तीनै तहमा भइरहेको पुनर्संरचना, राज्यशक्तिको बाँडफाँट, आर्थिक कारोबार र राजश्व स्रोतको बाँडफाँट लगायत आर्थिक गतिविधिहरू रुपान्तरणतर्फ केन्द्रित भएको सन्दर्भमा आर्थिक प्रशासनलाई उत्तरदायी र जवाफदेही बनाउनु महालेखापरीक्षकको प्रमुख चुनौती भएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।
महालेखापरीक्षक टंकमणी शर्मा दंगालले १२ वैशाख २०७२ को विनासकारी भूकम्पले साविकको भवनमा क्षति पुगेकाले नयाँ भवन निर्माण गर्नुपरेको जानकारी दिनुभयो ।
सरकारले उपलब्ध गराएको १० रोपनी १३ आना जग्गामा ६९ करोड २० लाख रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो ।


