![]()
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र चितवनको बाँदरमुढे घटनाका पीडितबीच तीन बुँदे सहमति भएको छ ।
पीडित पक्षबाट अगाडि सारिएका माग सम्बोधन गर्न माओवादी तयार भएपछि सहमति भएको हो ।
सहमतिमा मृतकका अश्रित परिवारलाई रोजगार र उनीहरुका बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने, घाइतेको उपचार गरिदिने तथा पीडितका परिवारका काम गर्न नसक्ने अवस्थाकालाई जीवन बृद्धि गर्ने र काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था गर्ने उल्लेख छ ।
त्यस्तै घटनामा घाइतेहरुको उपचार गर्दा भएको खर्च दिने तर, त्यसका लागि पीडितका तर्फबाट ३ जना, माओवादीका तर्फबाट ३ जना र माडी नगरपलिकाका प्रतिनिधिसम्मिलित एक कमिटी बनाउने सहमति भएको छ । समितिले तयार पारेको प्रतिवेदनका आधारमा यसअघि घाइतेहरुले उपचार गर्दा लागेको खर्च समेत माओवादीले व्यहोर्ने सहमति भएको छ ।
सहमतिमा पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, विकास लामिछाने र हरी न्युरेले हस्ताक्षर गरेका छन् भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।


