![]()
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीको स्पष्ट बहुमत आउने दाबी गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले पत्रकार सम्मेलन गर्दै लोकतन्त्रलाई सुदृढ बनाई मुलुकमा आर्थिक विकास गर्न जनताले कांग्रेसलाई बिश्वास गरेकोले बहुमत निश्चित भएको जनाएको छ । समितिका संयोजक बालकृष्ण खाँणले पार्टी एकढिक्का भएको, लोकतन्त्रप्रति मतदाताको ध्यानाकर्षण भएको र वाम गठबन्धनप्रति जनतामा निराशा छाएकाले कांग्रेसको स्पष्ट बहुमत आउने आधार प्रस्तुत गरे ।
“दोस्रो चरणमा हुन लागेको १२८ प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस ७० स्थानमा अगाडि छ,” खाणले भने ।
संविधानमा भएका मूलभूत कुरालाई उल्टाउने तथा एकदलीय शासन व्यवस्था लागू गर्ने मनसायका साथ वाम गठबन्धन भएको भन्दै संयोजक खाँणले बहुदलीय व्यवस्थाको रक्षा र राष्ट्रियताको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताए ।


