![]()
बिबिसि । एउटा नयाँ क्षेप्यास्त्र परीक्षणपछि उत्तर कोरियाले अमेरिकाको जुनसुकै ठाउँमा पनि प्रहार गर्न सक्ने सामर्थ्य हासिल गरेको जनाएको छ ।
‘सी अफ जापान’मा खस्नुअघि एक हजार किलोमिटर मात्र यात्रा गरेको उक्त क्षेप्यास्त्रले तय गरेको उचाइले वाशिङटनलाई पनि क्षेप्यास्त्र हमलाको दायराभित्र पार्नसक्ने बलियो संकेत दिएको विज्ञहरुले बताएका छन् ।
दुई महिनायता पहिलो पटक गरिएको सो क्षेप्यास्त्र परीक्षणले राष्ट्रपति ट्रम्पले हालैको एशिया भ्रमणका क्रममा दिएका चेतावनी र आफ्नो साझेदार चीनले बढाएको दबावबाट प्योङयाङले नतर्सेको सन्देश दिन खोजको ठानिएको छ ।
विगतमा प्योङयाङले ‘आगो र क्रोध’को सामना गर्नुपर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘अहिलेको अवस्थाको हामी सामना गर्न सक्छौँ,“ भनेका छन् । पछिल्लो क्षेप्यास्त्र परीक्षण मध्यराततिर गरिएको जनाइएको छ । राजधानी प्योङयाङबाट केही उत्तरमा रहेको क्षेत्रबाट उक्त क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाली अधिकारीहरु बताउँछन् ।
उत्तर कोरिया र जापानबीचको समुन्द्रमा खस्नुअघि उक्त क्षेप्यास्त्रले झण्डै ५० मिनेट पूर्वतर्फ यात्रा गरेको थियो । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको ६ मिनेटभित्रै दक्षिण कोरियाली सेनाले क्षेप्यास्त्र प्रहारको एउटा सैन्य अभ्यास गरेर आफ्नोतर्फबाट प्रतिक्रिया जनाएको थियो ।
तत्कालै अमेरिकी अधिकारीहरुले अर्को अन्तरमहादेशीय क्षेप्यास्त्र प्रयोग गरिएको टिप्पणी गरेको थियो । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उक्त क्षेप्यास्त्र विगतका उत्तर कोरियाली क्षेप्यास्त्रहरुमध्ये सबैभन्दा बढी उचाइ अर्थात ४,५०० किलोमिटर माथि पुगेको जनाए । यो सँगै पहिलो पटक क्षेप्यास्त्र विज्ञहरुले उत्तर कोरियाले अमेरिकी मूलभूमिको अधिकांश हिस्सामा प्रहार गर्नसक्ने क्षेप्यास्त्र विकास गरेको विश्वास गरेका छन् ।


