![]()
काठमाडौं । तान्त्रिक विधाबाट रोगको उपचार गर्ने बहानामा बलात्कार गर्ने टुल्कु लामाको काठमाडौं चाल्नाखेलमा रहेको गुम्बा अवैध देखिएको छ ।
१० वर्षदेखि दक्षिणकालीको चाल्नाखेलमा करिव १० रोपनी जग्गामा उनले पेमा टासी छुल्ठिम घोम्बो कासुगं नाम राखेर गुम्बा चलाउँदै आएका थिए । बालत्कार आरोपमा पक्राउ परेपछि प्रहरीले गुम्बाको नियमन गर्ने सरकारी निकाय गुम्बा व्यवस्थापन समितिमा बुझ्दा उनको गुम्बा दर्ता नरहेको खुलेको हो ।
तान्त्रिक विधीबाट उपचार गर्ने भन्दै लामाले गुम्बामा २० देखि ७० वर्षसम्मको महिलालाई राख्ने गरेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराले उनको गुम्बामा पुगेका अधिकांशलाई लामाले यौन दुव्र्यवहारमा परेको र केहीमाथि बलात्कारसमेत गरेको खुलेको दाबी गरेको छ ।
गुम्बाको आधिकारिक फेसबुक पेजमा एक महिलालाई चुम्बन गर्दै गरेको तस्बिर सार्वजनिक गरेपछि लामा प्रहरीको नजरमा परेका थिए । अनुसन्धानमा धर्मको आवरणमा यौन प्यास मेट्ने गरेको खुलेपछि ब्युरोले मंसिर ५ मा उनलाई पक्राउ गरेको थियो ।
उनले यौन सम्बन्ध राखेपछि आपत्तिजनक तस्विरहरू खिच्ने र पुन प्रयास गर्दा अस्वीकार गरे रोग बल्झने त्राससँगै आपत्तिजनक तस्बिर सार्वजनिक गरेर बद्नाम गराइदिने भन्दै जबर्जस्ती शारीरिक सम्पर्क राख्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ ।


