![]()
एजेन्सी । भारतले श्रीलंकाबिरुद्धको दोस्रो टेष्ट क्रिकेट खेल एकै इनिङ्समा जितेको छ । भारतले श्रीलंकामाथि एकै इनिङ्समा २३९ रनको जित निकालेको हो ।
नागपुरस्थित विदर्भा क्रिकेट एसोसियसन रंगशालामा चौथो दिन सोमबार श्रीलंका १६६ रनमा अलआउट भएपछि भारतले शानदार जित हात पारेको हो । भारतीय बलरको कसिलो बलिङमा श्रीलंकाका ब्याट्सम्यानको केही लागेन । श्रीलंकाका कप्तान दिनेश चन्डिमलले ६१ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो रन बटुल्न सकेनन् ।
भारतको जितमा रविचन्द्रन अश्विनले ४, इशान्त शर्मा, रविन्द्र जडेजा र उमेश यादवले समान २–२ विकेट लिए । जितसँगै भारतले ३ खेलको टेष्ट क्रिकेट खेलमा १–० ले लिड गरेको छ । यसअघि भएको पहिलो टेष्ट खेलमा भने दुबै टिमले बराबरी खेलेका थिए ।
पहिलो इनिङ्समा कप्तान विराट कोहलीको दोहोरो शतक तथा अन्य तीन खेलाडीको शतकमा भारतले ६१० रनको उच्च स्कोर बनाएको थियो । कप्तान विराट कोहलीले २१३ रन बनाएका थिए । भारतका लागि चेतेश्वर पुजाराले १४३, मुरारी विजयले १२८ र रोहित शर्माले १०२ रन बनाएका थिए ।
भारत टुरमा रहेको श्रीलंकाले अन्तिम टेष्ट क्रिकेट डिसेम्बर २ तारिखदेखि ६ तारिखसम्म खेल्नेछ । श्रीलंकाले भारतसँग समान ३–३ वटा खेलको एक दिवसीय र टि–ट्वान्टी क्रिकेट सिरिज पनि खेल्ने छ ।


