![]()
काठमाडौ,१० मंसिर ।
आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो स्थानको लागि नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कमजोर प्रदर्शन गरेको छ । नेपालले हङकङविरुद्ध १५ ओभरको समाप्तिमा मात्र ५९ रन जोडेर ४ विकेट गुमाईसकेको छ । नेपालकी नेरी थापा ३० रन बनाएर क्रिजमा छिन् । करुणा भण्डारीले ४ रन बनाएर नेरीलाई साथ दिईरहेकी छिन् ।
त्यसअघि नेपालकी ओपनर सिता राना मगर ३ तथा ज्योति पाण्डे २ रन बनाएर आउट भईन् । त्यस्तै काजोल श्रेष्ठ १२ रन बनाएर पेभेलियन फर्किदा रिता कुमारी कनौजिया पनि २ रनमा आउट भईन् । हङकङकी मारीको हिल र मारिनाले समान दुई दुई विकेट लिएका छन् ।
थाइल्याण्डमा जारी एसिया छनोटबाट ग्लोबल छनोटमा पुग्न असफल नेपालले तेस्रो स्थानको लागि भएको प्ले अफमा हङकङसँग प्रतिस्पर्धा गरिरहेको हो । राउण्ड रोबिनको आधारमा जारी एसिया छनोटमा नेपाल तेस्रो स्थानमा रहदै तेस्रो स्थानको लागि हुने प्ले अफ छनोट भएको हो ।
यस्तै हङकङ चौथो स्थानमा रहदै नेपालसँग प्ले अफ खेल्न लागेको हो । नेपाल र हङकङबीचको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ । यसअघि समूह चरणको खेलमा नेपाल र हङकङले बर्षाको कारण खेल अवरुद्द हुँदा एक एक अंक बाडेको थियो ।
छनोटको अन्तिम खेलमा आइतबार चीनलाई ५० रनले पराजित गरेपनि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । ग्लोबल छनोटमा पुग्न नेपाललाई छनोटको शिर्ष दुईमा पुग्नुपर्ने हुन्थ्यो । तर, छनोटमा नेपाल ६ अंक जोडेर तेस्रो स्थानमा सिमित भयो ।
नेपालले प्रतियोगिताको दुई खेलमा जित र एक हार बेहोर्दा दुई खेलमा अंक बाँडेको थियो । वर्षाको कारण नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्ड र दोस्रो खेलमा हङकङसँग
एक एक अंक बाँडेको थियो । तेस्रो खेलमा युएईसँग ५ रनले पराजित भएपछि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बनेको थियो । नेपालले चौथो खेलमा भने मलेसियालाई ३३ रनले पराजित गरेको थियो ।
छनोटको उपाधिको लागि शिर्ष दुई टोली आयोजक थाइल्याण्ड र युएईले सोमबार नै प्रतिस्पर्धा गर्दैछन् । थाइल्याण्ड र युएईले नेदरल्याण्डमा हुने विश्वकप छनोटको ग्लोबल छनोटमा समेत स्थान बनाएको छ । छनोटमा आयोजक थाइल्याण्ड ९ अंकसहित शिर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्दा ८ अंक जोडेको युएईले पनि ग्लोबल छनोटमा स्थान पक्का गरेको छ । ग्लोबल छनोटको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् ।


