![]()
सर्लाही,११ मंसिर ।
सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार दिएका वाम गठबन्धनका उम्मेदवार शिवपूजन राय यादवको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा उनको उम्मेदवारी खारेज गरेको हो । आयोगले उम्मेदवारी खारेजी गरेर आफूमाथि अन्याय गरेको भन्दै त्यसका लागि सोमबार नै अदालतमा जाने यादवको प्रतिक्रिया छ ।
वाम गठबन्धनको आफू साझा उम्मेदवार भएकाले दुवै पार्टी भित्र छलफल पछि मात्र के गर्ने भन्न सकिने उनको भनाई छ । राय माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका हुन् । पूर्वसभासद रायले कूटनीतिक राहदानी दुरुपयोग गरेकाले उनको उम्मेदवारी खारेज गर्नका लागि परेको उजुरीका आधारमा उम्मेदवारी खारेज गरेको आयोगले जानएको छ । उनको उम्मेदवारी खारेज भएपछि सर्लाही ४ का मतदातामा अन्यौल बढेको छ ।
वाम गठबन्धनका उम्मेदवार रायको उम्मेदवारी खारेजीले पार्टी भित्रका कार्यकर्तामा के गर्नै भन्ने अन्यौल बढेको गठबन्धनका कार्यकर्ताले बताएका छन् । यो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका अमरेशकुमार सिंह, राजपाका राकेश मिश्रर केही स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
रायको उम्मेदवारीको बारेमा पहिलेदेखि निकै चर्चा हुने गरेको थियो । विशेष अदालतले २०७२ साउन २६ मा कुटनीतिक राहदानी हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फैजदारी अभियागमा रायलाई चार महिना कैद र १५ हजार जरिवानाको फैसला गरेको थियो ।


