![]()
एजेन्सी । आइसीसी महिला टि २० विश्वकप क्रिकेटका लागि एशियाली क्षेत्रको छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली टोली युएईसँग ५ रनले हारेको छ ।
थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा युएईले दिएको ८० रनको सामान्य लक्ष्य पनि नेपालले भेट्टाउन सकेन । नेपाल १९.२ ओभरमा ७४ रनमै अलआउट भयो ।
नेपालका लागि रितु कनौजियाले सर्वाधिक २२ रनको अविजित योगदान गरिन् । नेपालकी ज्योती पाण्डेले १२ र सीता रानामगरले ७ रन बनाइन । कप्तान रुबिना क्षेत्री, इन्दू बर्मा र नेरी थापाले खाता पनि खोल्न सकेनन । काजल श्रेष्ठ ८ रनमा रनआउट भइन । करुणा भण्डारीले ६ रन बनाइन ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रन बनाएको थियो । नेपालका लागि कप्तान क्षेत्रीले ३ विकेट लिँदा रितुले २ तथा नेरी थापाले १ विकेट लिए ।
यसअघिका दुई खेल वर्षाले प्रभावित भएपछि नेपालले अंक बाँडेको थियो । नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्ड र दोस्रो खेलमा हङकङसँग एक एक अंक बाँडेको थियो ।
हारसँगै नेपालको लिगको शीर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको छ । अब नेपालले शुक्रबार मलेसियासँग खेल्नेछ ।


