![]()
कालिकोट । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वाम गठबन्धनको सरकार भएमा त्यसले कर्णालीको कुरै छाडौं मुलुककै विकास नहुने बताउनु भएको छ ।
नेपाली कांग्रेस कालीकोटले नरहरिनाथ गाउँपालिकाको कोटवाडामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले गफ ठूला गर्ने तर काम फिटिक्कै नगर्ने आरोप लगाउनुभयो । उहाँले कर्णाली हरेक क्षेत्रमा पछि परे पनि यो क्षेत्रमा कांग्रेसबाहेक अरु कसैको ध्यान नपुगेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले कर्णालीमा भू–सम्पदा तथा पर्यटन क्षेत्रको अथाह सम्भावना रहेकाले अबको विकास झन सुदृढ ढंगले अघि बढ्ने आश्वासन दिनुभयो ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेसले विगत २००७ सालदेखि हालसम्म नेपालको प्रगति मात्र चाहेको बताउँदै भावी दिनमा पनि नेपाल र नेपाली जनताका लागि नेपाली कांग्रेस मरिमेट्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रधानमन्त्री देउवाले वाम गठबन्धन निरंकुश व्यवस्थाका लागि भएको भन्दै लोकतान्त्रिक गठबन्धनलाई बिश्वास गरेर मत दिन आह्वान गर्नुभयो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएमा मात्रै लोकतन्त्रको रक्षा हुने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले बिहीबार नै जुम्ला, रुकुम लगायतका जिल्लामा आयोजित आमसभालाई सम्बोधन गर्नुभयो ।


