![]()
बिबिसि । अमेरिकाले जापानमा रहेका आफ्ना सबै सैनिकलाई रक्सी सेवन गर्न प्रतिबन्ध लगाएको छ । ओकिनावा टापुमा रक्सी सेवनसँग सम्बन्धित एउटा गम्भीर दुर्घटनापछि उनीहरुमाथि यस्तो निर्णय लिइएको हो । यसका अतिरिक्त सैनिकहरुलाई सैन्य अखडा र उनीहरुको आवास छाड्न पनि प्रतिबन्ध लगाइएको छ ।
आइतवार एक अमेरिकी सैनिकले मिनी भ्यानसँग ट्रक ठोक्काउँदा अर्कै सवारीसाधनका एकजना स्थानीय चालकको ज्यान गएको थियो । जापानमा तैनाथ अमेरिकी सेनाको आधाभन्दा बढी संख्या ओकिनावामा छ तर बाक्लो सैन्य उपस्थितिप्रति स्थानीयबासिन्दाले लामो समयदेखि आक्रोश व्यक्त गर्दै आएका छन् ।
एउटा वक्तव्यमार्फत अमेरिकी सेनाले आफ्ना एक सैनिक दुर्घटनामा संलग्न रहेको पुष्टि गरेको छ र ’त्यसको एउटा कारक रक्सी हुनसक्ने’ जनाएको छ ।
अमेरिकी सेनाले ‘जिम्मेवार ढङ्गले रक्सी सेवन, जोखिम व्यवस्थापन र वाञ्छनीय आचरणबारे जापानमा रहेका आफ्ना सबै सैनिकका लागि अनिवार्य तालिम’को पनि घोषणा गरेको छ ।
सन् २०१६ मा दशौं हजार जापानीहरुले अमेरिकी सेनाको उपस्थितिको विरोधमा प्रदर्शन गरेका थिए । दक्षिणी जापान र चीनको तटपारी करिब ६४० किलोमिटर क्षेत्रमा रहेको ओकिनावा अमेरिका जापान सुरक्षा गठबन्धनको एउटा प्रमुख हिस्सा हो । उक्त अखडामा करिब २६ हजार अमेरिकी सैनिक छन् ।
सो टापुको कम जनसंख्या भएको क्षेत्रमा सेनालाई सार्ने योजनाहरु छन् तर ओकिनावावासी त्यहाँबाट समग्र हवाई अखडा हटाइयोस् भन्ने चाहन्छन् । फौजहरुसँग जोडिएका अपराध र दुर्घटनाहरुप्रति धेरै ओकिनावावासीहरु आपत्ति जनाउँछन् ।
खासगरी सन् १९९५ मा अमेरिकी सैनिकहरुले एक १२ वर्षीया किशोरीको सामूहिक बलात्कार गरेको घटनापछि अमेरिकी उपस्थितिलाई लिएर धेरै स्थानीयबासिन्दामा आक्रोश बढ्दो छ ।
सन् २०१६ मा एउटा सैनिक अखडामा खटिएका एक पूर्व मरिन एकजना महिलाको हत्यामा जोडिएपछि रक्सी सेवन र मध्यरातसम्म लगाइने कर्फ्यूमा अस्थायी प्रतिबन्ध लगाइएको थियो ।


