![]()
एजेन्सी । शारीरिक रुपमा मोटीघाटी देखिने बलिउड अभिनेत्री बिद्या बालन अभिनयका हिसाबले बोल्डछिन । खासगरी उनका फिल्म महिला केन्द्रीत हुने गरेका छन । शारीरिक रुपमा मोटी भएकीले उनले ग्ल्यामरस फिल्म नपाएको चर्चा पनि बेलाबेला हुने गरेको छ । यहीबेला उनको आगामी फिल्म ‘तुम्हारी सुलु’को चर्चा पनि चुलिएको छ ।
फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका लागि उनी अहिले कस्सिएर लागेकी छिन । निकै खरो स्वभावकी बिद्या सो कार्यक्रममा पनि पत्रकारसंग कडा रुपमा प्रस्तुत भइन ।
समाचार अनुसार जब पत्रकारले उनको बढ्दो शारीरिक तौलका विषयमा प्रश्न सोधे तब विद्या पड्किइन् । उनलाई सोधिएको थियो– तपाईंका धेरै फिल्म महिला केन्द्रित छन् । अब आगामी दिनमा पनि यस्तै फिल्ममा काम गर्नुहुन्छ कि तौल घटाउने बारे सोच्नुहुन्छ ?
पत्रकारको यस्तो प्रश्न सुनेपछि विद्याले प्रतिप्रश्न गरिन, ‘तौल घटाउने कुरा र महिला केन्द्रित फिल्मका बीच के सम्बन्ध छ ?’
उनको त्यस्तो जवाफ सुनेपछि प्रश्न प्रष्ट पार्न पत्रकारले भने, ‘प्रश्नको तात्पर्य के हो भने तपाईंले भविष्यमा ग्ल्यामर भूमिका पाउने विषयमा केही सोच्नुभएको छ कि ?’
यो सुनेपछि विद्यालाई असह्य भयो । ‘म जस्तो छु र जस्तो किसिमको फिल्ममा काम गरिरहेकी छु, त्यसबाट म सन्तुष्ट छु । तर, म चाहन्छु कि तपाईं जस्ता व्यक्तिहरूले दृष्टिकोण बदल्न आवश्यक छ,’ विद्याले भनिन् । केही समय यता बलिउडमा नायिकाहरूले शरीरको तौल घटाउन थालेपछि उनीहरू आलोचनाको सिकार भइरहेका छन् । तर विद्या बडी सेमिङको विरुद्धमा छिन् ।
विद्याको ‘तुम्हारी सुलु’ नोभेम्बरमा रिलिज हुँदैछ । फिल्ममा उनीसँगै मानव कौल, नेहा धुपिया र आरजे मलिसकाको अभिनय छ । फिल्ममा विद्याले मध्यम वर्गीय परिवारको विवाहित महिला सुलुको भूमिका निभाएकी छन् । पति र बच्चासँग बस्ने सुलु निकै चञ्चल र खुशी छिन् ।


