![]()
नेपालगञ्ज,२९ कार्तिक ।
लोकतान्त्रिक गठबन्धनले नेपालगन्जको वडा नम्बर ४ स्थित सल्यानीबाग क्षेत्रमा मंगलबार प्रचार अभियान सञ्चालन सुरु
गरेको छ । सो गठबन्धनले चुनावी प्रचार प्रसार तथा कोणसभा समेत आयोजना गरेको छ । कोणसभालाई सम्बोधन गर्दै राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगर मेयर धवलसम्शेर राणाले बाँके क्षेत्र नम्बर २ काँग्रेस र राप्रपाको गढ भएकाले फेरी पनि मतदाताले लोकतान्त्रिक शक्तिलाई जिताउ आव्हान गरे ।
स्थानीय तहको चुनावमा नेपालगन्जबासीले राप्रपा र नेपाली काँग्रेसलाई जिताएको स्मरण गराउँदै मेयर राणाले उपमहानगर सहित समग्र बाँके जिल्लाको विकासका लागि फेरी पनि काँग्रेस र राप्रपालाई जिताउन आग्रह गरे । महामन्त्री राणाले लोकतन्त्र र प्रजातन्त्र जोगाउनका लागि फेरी एक पटक लोकतन्त्रवादी शक्तिलाई मतदान गर्न अनुरोध गरे ।
प्रतिनिधीसभा र प्रदेश सभा सदस्यको सहयोग र सहकार्य बिना विकास गर्न कठिन हुने भएकोले भोली बिचार नमिल्ने व्यक्ति निर्वाचित भयो भने काम गर्न कठिन हुने भन्दै राणाले यस क्षेत्रको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउन अनुरोध गरे ।
नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाले देशलाई अप्ठ्यारो पर्दा नेपाली काँग्रेस र राप्रपा एकै ठाउँमा उभिनु परेको बताए । राप्रपा लोकतन्त्रप्रति आस्था राख्ने पार्टी भएको हुनाले केन्द्रमा भएको निर्णयलाई काँग्रेसले पनि जिल्लामा स्वीकार गरेर लोकतन्त्र बचाउने यो महाअभियानमा लागेको स्पष्ट पारे ।


