Breaking News.... EverestOnlineKhabar
August 16, 2026

ललितपुरको चुनावी भिडन्तःदुई पूर्वविजेता फेरी भिड्दै

Loading

ललितपुर,२३ कार्तिक ।
उपत्यकाको सबभन्दा पुरानो सहर मानिने ललितपुरमा चुनावी चलहपहल सुरु भएको छ । दोस्रो चरणमा मंसिर २१ मा निर्वाचन हुने ललितपुरमा २ लाख १३ हजार ७३ मतदाता छन् । ललितपुर महानगरपालिकासमेत पर्ने निर्वाचन क्षेत्र नं.२ का मतदाताबीच कसलाई भोट दिने भन्ने बारेमा छलफल हुन थालेको छ । यो क्षेत्रबाट २०७० र ६४ को संविधानसभा चुनावमा क्रमशःकांग्रेसका चन्द्र महर्जन र माओवादी केन्द्रका राजकाजी महर्जन निर्वाचित भएका थिए । २०५४ मा एमालेका कृष्णलाल महर्जनले जिते ।
यसपालि प्रतिनिधिसभाका लागि यो क्षेत्रमा पहिलेका दुई विजयी कांग्रेसका चन्द्र महर्जन र एमालेका कृष्णलाल महर्जनबीच प्रतिस्पर्धा हुँदै छ । खोकनाका सिद्धिबहादुर डंगोल भन्छन्ः‘कला संस्कृतिको संरक्षण प्रवद्र्धन गर्ने गुरुयोजना भएका उम्मेदवारलाई प्राथमिकता दिनेछु ।’
स्थानीय तहको निर्वाचनमा पनि संस्कृति संरक्षण गर्नेलाई चुनेको बताउँदै अहिले सचेत हुने डंगोलको भनाइ छ ।उनले भनेः‘नेवारी बस्तीको सान भनेकै नेवारी वास्तुकला शैलीमा घर हुन्, नेताहरूले खोकना एकीकृत बस्ती पुनर्निर्माण योजना अगाडि बढाउन चासो दिएनन् ।’
बुङमती बस्ती ऐतिहासिक हस्तकला ग्राम हो । जसको अस्तित्व बिस्तारै लोप हुँदै गएको छ । यस बस्तीलाई कलाग्रामको रूपमा विकास गर्नेलाई चुन्ने बताउँदै बुङमतीका सम्पूर्ण तुलाधार भन्छन्ः‘यही पुख्यौली पेसा जगेर्ना गर्न सकेमा यहाँका युवाहरू विदेश जानु पर्दैन, त्यही पेसाबाट मनग्गे आम्दानी गर्न सकिन्छ ।’
पाटन पनि ऐतिहासिक कलाको सहर हो । पाटनवासी कला र संस्कृतिको सहरको रूपमा विकास गर्ने गुरुयोजना भएका उम्मेदवारीलाई प्राथमिकता दिने बताउँछन् । यहाँ हस्तकला, प्रस्तरकला, ताम्रकला, मूर्तिकला, काष्ठकला लागि प्रख्यात मानिन्छ । महानगरमा २८ लाख ४ हजार ९ सय २२ मध्ये अधिकांश कलामा निर्भर छन् । उनीहरूको मुख्य आम्दानीको स्रोत कला नै हो । तर अहिले कलाको सहर बिस्तारै हराउँदै गएको छ । गावहालका पूर्वसंस्कृति मन्त्री बुद्धिराज बज्राचार्य भन्छन्ः‘जसले कला र संस्कृतिको विकासमा जोड दिन्छ, उसैलाई मत दिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.