![]()
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं मेट्रो नामक मोबाइल एप्स सार्वजनिक गरेको छ । यसअघि महानगरले चलाउँदै आएको केटिएम मेट्रो र क्लिन केटिएम दुई मोबाइल एप्सलाई संयोजन गरेर काठमाडौं मेट्रो एप्स सञ्चालनमा ल्याइएको हो ।
सोमबार एक विशेष समारोहमा मेयर विद्यासुन्दर शाक्यले नयाँ एप्स सार्वजनिक गरे । “सूचना व्यवस्थापन नहुँदा राम्रा प्रयास ओझेलमा पर्ने र नकारात्मक टिप्पणी बढ्ने गरेकाले एप्समार्फत सूचना दिन लागेका हौं,” कार्यक्रममा मेयर शाक्यले भने, “नगरबासी र सञ्चारकर्मीहरुको विद्युतीय सूचना प्रणालीबाट सहज ढङ्गले सूचना दिनुपर्छ भन्ने सुझावलाई मध्यनजर गर्दै एप्स प्रयोगमा ल्याइएको हो।”
महानगरका दैनिक काम, आगामी योजना र कार्यक्रमसम्बन्धी सूचना नगरबासीसमक्ष पुगेमात्र दुई पक्षबीच सम्बन्ध सुमधुर हुने बताउँदै उपमेयर हरिप्रभा खड्गीले भनिन, “महानगरका सूचना सम्प्रेषणमा कर्मचारीहरु सक्रिय रहनुपर्छ ।”
महानगरका कार्यकारी अधिकृत धनीराम शर्माले एप्सको प्रयोगबाट सञ्चारकर्मी तथा आमनागरिकले महानगरका सम्पूर्ण सूचनाहरु सहज रुपमा पाउने बताए । एन्ड्रोइड मोवाइलको गुगल प्ले स्टोरबाट यो एप्स डाउनलोड गरेर सञ्चालन गर्न सकिनेछ ।


