![]()
बिबिसि । दक्षिण कोरियाले उत्तर कोरियामा पैसा पठाउने गरेको आरोप लागेका १८ जना उत्तर कोरियालीविरुद्ध एकतर्फी प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प दक्षिण कोरिया पुग्नु एक दिनअघि यस्तो निर्णय लिइएको हो ।
अमेरिकाले दक्षिण कोरियाले प्योङयाङविरुद्ध कडा रवैया अपनाउनुपर्नेमा जोड दिइरहेको छ । दक्षिण कोरियाको कालोसूचीमा परेका व्यक्तिहरु पाँचवटा उत्तर कोरियाली ब्यांकका प्रतिनिधिहरु हुन् । उनीहरु चीन, रुस र लिबियामा खटिएका थिए । उनीहरुमाथि उत्तर कोरिया खासगरी उसको हतियार कार्यक्रमका लागि रकम जुटाउन मद्दत गरेको आरोप छ । अमेरिका र संयुक्त राष्ट्रसंघले उनीहरुलाई यसअघि नै कालोसूचीमा राखिसकेका थिए । पछिल्लो कदमको सांकेतिक महत्वको मात्रै रहेको ठानिएको छ ।
सन् २०१० मा दक्षिण कोरियाली नौसेनाको पानीजहाजलाई उत्तर कोरियाले डुबाइदिएको आरोप लगाइएयता दुई देशबीचको आर्थिक कारोबार बन्द गरिएको छ । आफ्नो एसिया भ्रमणका क्रममा ट्रम्प दक्षिण कोरिया पनि जाँदैछन् । मंगलबार दक्षिण कोरिया आइपुग्ने अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन्तुष्ट पार्न प्रतिबन्धको निर्णय लिएको जस्तो देखिन्छ ।


