![]()
काठमाडौ,२० कार्तिक ।
संसद्को आफ्नै भवन नभएपछि भावी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरमै बस्ने भएको छ भने प्रदेश संसद्को बैठक कहाँ बस्ने भन्ने अन्योल कायमै छ। संसद् सचिवालयले सम्मेलन केन्द्रमा रहेका अन्य सरकारी कार्यालय हटाएर सम्मेलन केन्द्रको पूरै क्षेत्र भाडामा लिने तयारी गरेको छ।
०६४ को संविधानसभा गठनपछि संविधानसभा र पछि रूपान्तरित संसद्को बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको थियो। अब प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक संसद् हुने भएपछि संसद् सचिवालयले सम्मेलन केन्द्रको मुख्य हलमा प्रतिनिधिसभा र नुप्से हलमा राष्ट्रियसभाको बैठक बस्ने गरी तयारी गरेको जनाएको छ।
संविधानसभाका बैठक बस्ने गरेको मुख्य हलमा ६ सयभन्दा बढी सिट छन्। तर, भावी प्रतिनिधिसभा २ सय ७५ सदस्यीय मात्र हुने भएपछि सिट मिलान गर्नुपर्ने आवश्यकता देखिएको छ। सोफा, कार्पेट, पर्दा फेर्न, नयाँ माइक जडान गर्न, रंगरोगन गर्न, नयाँ फर्निसिङ गर्न खर्च हुने संसद् सचिवालयको अनुमान छ।
संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा रहेका कानुन सुधार आयोग र लगानी बोर्डका कार्यालय अन्यत्र सारेर संसद् सचिवालय स्थापना गर्ने तयारी गरेको छ। विगतमा संविधानसभाका बैठक सम्मेलन केन्द्रमा बस्ने गरे पनि संसद् सचिवालयको सम्पूर्ण काम सिंहदरबारबाट गर्नुपर्ने दोहोरो झन्झट थियो।
दुई सदनात्मक केन्द्रीय संसद्को बैठक बस्ने स्थानको टुंगो लागे पनि प्रदेशसभा भवनको अझै टुंगो लाग्न सकेको छैन। प्रदेशसभामा जनप्रतिनिधि चयन भएर आउन एक महिनाभन्दा कम समय छ। संविधानअनुसार प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्छ। तर, जनप्रतिनिधि आएपछि कुन स्थानमा प्रदेशसभाको बैठक सञ्चालन गर्ने भन्ने अत्तोपत्तो छैन।
प्रदेशसभा भवनको स्थान, प्रदेशसभा सचिवालयको स्वरूप, भौतिक संरचनाबारे सरकारले केन्द्रीय संसद् सचिवालयसँग सोधपुछ समेत गरेको छैन।


