![]()
एजेन्सी,१६ कार्तिक ।
इंंग्लिस क्लब टोटनह्याम साबिक विजेता स्पेनिस क्लब रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । घरेलु मैदामा बुधबार राति भएको समूह एच अन्तर्गतको खेलमा टोटनह्यामले उत्कृष्ट प्रदर्शन गर्दै रियल मड्रिडलाई ३–१ ले हराएको हो । टोटनह्यामको जितमा डेल अलीले दुई तथा क्रिष्टियन एरिक्सनले एक गोल गरे । भ्रमण टोली रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले एक गोल फर्काए । २७ औं मिनेटमा अलीले गोल गर्दै टोटनह्यामलाई सुरुवाति अग्रता दिलाए । अलिको गोलपछि रियलका लागि क्रिष्टियानो रोनाल्डो र करिम बेन्जिामाले गोल गर्ने प्रयास गरे तर सफल भने हुन सकेनन् । ५६ औं मिनेटमा अलीले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारे । त्यसको ९ मिनेटपछि एरिक्सनले गोल गरेपछि रियल मड्रिड ३–० ले पछि पर्यो । रियल मड्रिडका लागि ८० औं मिनेटमा एक गोल फर्काए । ह्यारी केनसहितको टिम टोटनह्यामले रियल मड्रिडलाई पहिलोपटक हराएको हो ।
यसअघिका पाँच खेलमा तीन खेलमा टोटनह्याम पराजित भएको थियो भने दुई खेलमा बराबरी भएको थियो । जितपछि टोटनह्यामले दुई खेल बाँकी हुँदै अन्तिम १६ मा स्थान बनाएको छ । उसको १० अंक भएको छ भने दोस्रो स्थानको रियल मड्रिडको सात अंक छ । समूह एच कै खेलमा बोरुसिया डर्टमुण्डले एमोइल निकोशियासँग १–१ को बराबरी खेल्यो ।


