![]()
एजेन्सी,१५ कार्तिक ।
चीनले सन् २०२२ मा आयोजना हुने बेइजिङ हिउँदे ओलम्पिकसम्ममा चालकरहित उच्च गतिको रेल सञ्चालनमा ल्याउने भएको छ । चाइना रेलवे कर्पोरेसनको महाप्रवन्धकका विशेष प्राविधिक सल्लाहकार ह ह्वावुलाई उद्धृत गर्दै चाइना डेलीले यससम्बन्धी समाचार लेखेको छ ।
गत बिहीबार सांघाइमा आयोजित आधुनिक रेलवे सेवा प्रदर्शनीको उद्घाटन समारोहमा ह ह्वावुले उक्त जानकारी दिएका हुन् । अनुसन्धानकर्ताहरुले अहिले बेइजिङदेखि हपेइ प्रान्तको चाङचियाखौसम्म विना चालक उच्च गतिको रेल गुडाउने कार्यको परीक्षण गरिरहेका छन् । सन् २०२२ मा बेइजिङ र चाङचियाखौ सहरले संयुक्त रुपमा हिउँदे ओलम्पिकको आयोजना गर्दैछन् ।
चीनमा अहिले गुडिरहेका उच्च गतिको रेलसेवाको तुलनामा चालकरहित उच्च गतिको रेल बढी सुरक्षित र समयपालक हुने ह ह्वावुले बताएका छन् ।
सांघाइको तोङची विश्वविद्यालयअन्तर्गत रेलवे तथा सहरी रेल ट्रान्जिट इन्स्टिच्युटका प्रोफेसर सुन चाङले रेलमा जडान गरिएको सेन्सर र स्याटलाइट प्रणालीले नियन्त्रण कक्षलाई बढी भरपर्दो र सुरक्षित बनाउने बताएका छन् । चालक रहित रेलको गती प्रतिघण्टा ३५० किलोमिटर अथवा त्योभन्दा बढी हुने पनि उनले बताए ।
चीनले पहिलोपटक सन् २००८ मा उच्च गतिको रेलवे सेवा निर्माण गरेको हो । उच्च गतिको रेल ३५० किलोमिटर प्रति घण्टाको गतिमा दौडन्छ । अहिले चीनमा २२ हजार किलोमिटर उच्च गतिको रेल सञ्जाल बनिसकेको छ । उच्च गतिको रेलमार्ग संजालमा चीन विश्वको पहिलो स्थानमा छ ।


