![]()
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको छुटछुट्टै मतपत्र छाप्ने विवरणसहितको निर्णय सर्वोच्च अदालतमा बुझाएको छ ।
महान्यायधिवक्ताको कार्यालयमार्फत सर्वोच्चको मानहानी सम्बन्धी मुद्दाको जवाफमा दुई मतपत्र छाप्ने विवरण आयोगले बुझाएको हो । यसअघि आयोगले एउटै मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको मतपत्र छाप्ने तयारी गरेको थियो ।
प्रतिनिधिसभा र प्रदेशको प्रत्यक्षतर्फ एउटै सिटमा दुई मतपत्र तथा समानुपातिकको अर्को सिटमा दुई तहका लागि मतपत्र डिजाइन गरिएको थियो । एउटै सिटमा हुन नहुने भन्दै राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा अन्तरिम आदेश नदिएको अदालतले समानुपातिकको मतपत्र एउटैमा भएपनि प्रत्यक्षका लागि पुनर्विचार गर्ने आशयको फैसला गरेको थियो । तर, नेता शुक्लले अदालतको निर्णयको अपहेलना भएको भन्दै अपहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दामामा अदालतले आयोगको जवाफ मागेको थियो । उक्त फैसलाको जवाफ तयार पार्दै आयोगले दुई मतपत्र छाप्न तयार रहेको जनाएको हो ।


