![]()
काठमाडौं । एएफसी यू–१९ च्याम्पियनसिप छनोट खेल्न नेपाली फुटबल टोली किर्गिस्तानतर्फ प्रस्थान गरेको छ । अर्पण कार्कीको कप्तानीमा रहेको टोलीले फाइनल चरण पुग्ने लक्ष्य लिएको छ ।
नेपाल कठिन मानिएको समूह ‘समूह ए’ मा रहेको छ । नेपालको समूहमा किर्गिस्तान, ओमान, युएई र बहराइन रहेका छन् । तर, गत असोजमा भारतलाई पराजित गर्दै साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधिले टोलीको मनोबल भने उच्च रहेको छ ।
नेपालले आयोजक किर्गिस्तानसँग मंगलबार खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै नेपालले कात्तिक १६ मा बहराइन, कात्तिक १८ मा युएई र कात्तिक २२ मा ओमानसँग खेल्नेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ । त्यस्तै दोस्रो हुने मध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।


