![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई आफनै कारणले संकमा परेको बताउनु भएको छ । नयाँ शक्तिका नेता बासु पोखरेललाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले बाबुरामका पछिल्ला कदमले स्वयं उनैलाई र उनको पार्टीलाई संकटमा पारिरहेको धारणा राख्नुभयो ।
अध्यक्ष प्रचण्डले डा. भट्टराईले माओवादी छाड्नु र वाम गठवन्धन छाडेर कांग्रेससँग मिल्नु दुःखद भएको बताउँदै यसले नयाँ शक्ति पनि केहो केहो भन्ने अन्योल भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नयाँ शक्तिको हविगत सबैले देखिसके, अब भट्टराईसहित सबै नेता कार्यकर्ताहरु वाम गठवन्धनमा ध्रुवीकृत हुनुको विकल्प छैन । ’
कार्यक्रममा माओवादी नेता एवम् गोर्खा क्षेत्रनम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले जितेर मात्र देशको स्थीरता र समृद्धि सम्भव हुने धारणा राख्नुभयो ।
माओवादी केन्द्रमा प्रवेश गरेका गोरखा सिरानचोकका बासु पोखरेल नयाँ शक्तिको केन्द्रीय परिषद सदस्य हुनुहुन्थ्यो ।


