![]()
चितवन । चितवनमा प्लाष्टिकबाट डिजेल निकालेर प्रदर्शन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) ललितपुरले चितवनको भरतपुरमा प्लाष्टिकबाट डिजेल निकालेर देखाएको हो ।
विगत तीन वर्षको सफल अनुसन्धानपछि अहिले विभिन्न नगरपालिका र महानगरपालिकाहरूमा जानकारी दिने उद्देश्यसहित नाष्टको टोलीले भरतपुर महानगरपालिकामा एक कार्यक्रमका बीच डिजेल निकालेर देखाएको हो । नगरपालिकाहरूले यो प्रविधिलाई प्रयोग गर्न सके प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्न सकिने र उपयोगी काममा समेत लगाउन सकिने नाष्टका वैज्ञानिक डा. रविनप्रसाद ढकालले बताए । नेपालको धनगढी, नेपालगञ्ज, हेटौँडा, रत्ननगरलगायत क्षेत्रमा प्रचारात्मक कार्यक्रम गरेर भरतपुर महानगरपालिका आइपुगेको उनले बताए । अब पोखरा हुँदै काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको डा. ढकालले बताए । ढकालका अनुसार यो प्रविधि जापानमा आविष्कार गरिएको हो । विश्वका ६५ देशमा यस प्रविधिको प्रयोग भएपनि नेपालमा भने सुरु भएको छैन ।
यसमा पाइरोलाइसिस मेसिनमा एकतर्फको भागमा प्लाष्टिक राखिन्छ । त्यसलाई अक्सिजनविहीन अवस्थामा ४५० डिग्री तापक्रममा तताएपछि बाफमा परिणत हुने र त्यसपछि अर्काे भागमा फर्निस तेलको रूपमा पानीमाथि तैरिएर निस्कन्छ । त्यसलाई प्रशोधन गरेपछि डिजेल तयार हुने अनुसन्धानकर्ताहरूले बताएका छन ्। भरतपुरमा गरिएको प्रदर्शनमा एक किलो प्लाष्टिकबाट झण्डै ८०० मिलिलिटर डिजेल निकालिएको थियो ।
अनुसन्धानकर्मीका अनुसार एक नेपालीले दैनिक ३१७ ग्राम फोहोर निकाल्छ । त्यसमा १२ प्रतिशत प्लाष्टिकको फोहोर हुन्छ । प्रशोधन गरेर डिजेल निकाल्ने हो भने अहिले खपत भइरहेको इन्धनको १० प्रतिशत इन्धन प्लाष्टिकबाट निकाल्न सकिन्छ ।
डा. ढकालले नेपालमा दैनिक ४१३ टन प्लाष्टिकबाट २५ लाख किलोलिटर इन्धन निकाल्न सकिने दाबी गरे । नेपालमा फालिएको प्लाष्टिकमध्ये ५० प्रतिशत प्लाष्टिक प्रशोधन गर्न सकिने भएपनि बाँकी ५० प्रतिशतबाट इन्धन निकाल्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन् ।


