![]()
एजेन्सी,५ कार्तिक ।
एभर्टनबाट बार्सिलोना आएका जेरार्ड डेउलेफेउले पहिलो गोल गरेका छन् । ला लिगा अन्तर्गत शनिबार मालागाविरुद्ध भएको खेलमा डेउलेफेउले पहिलो गोल गरेका हुन् । खेल सुरु भएको २ मिनेटमै उनले बार्सिलोनाका लागि गोल गरेका हुन् । तर यो गोल निकै नै विवादास्पद गोल बन्न पुग्यो ।
लुकास डिग्नेले डेउलेफेउलाई दिएको क्रस मैदान बाहिर गैसकेको थियो । बाहिरिइसकेको बललाई डेउलेफेउले गोलमा परिणत गरेका थिए । मालागाविरुद्ध सुरुदेखि नै दबाब बनाएको बार्सिलोनाका लागि आन्द्रेस इनिएस्टाले ५६ औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।
मालागाका प्रशिक्षकले रेफ्रीका कारण आफूहरुले हार्नुपरेको बताएका छन् । विवादास्पद पहिलो गोलले नै आफूहरुको भाग्य निर्धारण गरेको मालागाका प्रशिक्षक माइकेलले बताए ।
स्पेनमा क्याटालोनिया क्षेत्रलाई लिएर बढिरहेको राजनीतिक तनावका बीच बार्सिलोनाको खेल हेर्न क्याम्प नाउमा हजारौँ प्रशंसक उपस्थित थिए । उनीहरु स्वतन्त्र क्याटालोनियाको माग गर्दै झण्डा बोकेर रंगशालामा उपस्थित भएका थिए ।
बार्सिलोनाले भने प्रशंसकहरुलाई शान्तिपूर्ण तरिकाले खेल हेर्न आग्रह गरेको थियो । खेल चलिरहँदा १७ औँ मिनेटमा क्याटालोनियाको स्वतन्त्रताको माग गर्दै रंगशाला नै थर्किने गरी बार्सिलोनाका प्रशंसकहरुले नारा लगाएका थिए ।
शनिबारको जितसँगै बार्सिलोनाले ला लिगाको यो सिजनमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । नौ खेलबाट ८ जित र एक बराबरी गर्दै २५ अंकका साथ बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको नौ खेलबाटै २१ अंक रहेको छ । एक खेल कम खेलेको रियल मड्रिड १७ अंकसहित अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।


