Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

काठमाडौं । राजपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका उम्मेदवारको सूचीलाई लिएर पार्टी भित्र तनाव उत्पन्न भएको छ । सूची सच्याउन माग राख्दै राजपाका महासचिवद्वय केशव झा, पेशल ढकालसहित मनिष मिश्र, दीपक अग्रवाल, विनोदकुमार मण्डल, इन्दु गुप्तालगायतले पार्टी कार्यालय बबरमहलमा धर्ना सुरु गरेका छन् । उनीहरूले कात्तिक ४ गतेसम्म दैनिक तीन घन्टा धर्ना दिने, माग पूरा नभए ५ गतेदेखि रिले अनशनमा बस्ने कार्यक्रम घोषणा गरेका छन् । पार्टीको साधारण सदस्यसमेत नरहेकालाई समानुपातिकतर्फको उम्मेदवारको सूचीमा राखिएको भन्दै राजपाको एउटा पक्ष धर्नामा उत्रिएको छ ।

राजपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा रहेका नरमाया ढकाल, निमाछिरिङ शेर्पा, लीलाराम भण्डारी, निलमदेवी भुमियारीलगायतका व्यक्तिको नाम हटाउन उनीहरूले माग राखेका छन् । यसैगरी यसअघि एकपटक पार्टीको लाभको पदमा बसिसकेकालाई समानुपातिकको सूचीबाट हटाउन पनि उनीहरूले अडान राखेका छन् । यसअघि लाभको पदमा बसिसकेकालाई समानुपातिकको सूचीबाट हटाउने हो भने चन्दा चौधरी, अकवाल अहमदलगायतका नाम हटाउनुपर्ने हुन्छ ।

पार्टीले आयोगमा बुझाएको सूचीको दोस्रो नम्बरमा चन्दा र तेस्रो नम्बरमा अकवालको नाम छ । नामै नसुनिएका र पार्टीको साधारण सदस्यसमेत नरहेकालाई उम्मेदवार सूचीमा समावेश गरिएको उनीहरुको आरोप छ ।
स्याङ्जाकी नरमाया ढकालको नामले राजपाभित्र विवाद उत्पन्न भएको छ । ढकालको नाम राजेन्द्र महतोले सिफारिस गरेका हुन् । उनको नाम सूचीको चौथो नम्बरमा छन् । जबकि, पार्टीका वरिष्ठ नेता निर्जला राउत र रामनरेश रायको नाम पाँचौं र छैटौं नम्बरमा छ । ‘नाम नसुनिएका व्यक्तिको नाम माथि राख्ने तर पार्टीका वरिष्ठ नेताको नाम तल राख्ने, यो कतिसम्म अन्याय हो’, धर्नाका सहभागीहरुको प्रश्न छ ।
सातौं नम्बरमा रहेका शेर्पाको नाम राख्न अनिल झाले सिफारिस गरेका थिए । यसैगरी राजकिशोर यादवले लीलाराम भण्डारीको नाम सिफारिस गरेका थिए । समानुपातिकमा सिफारिस गरिएकाको वरियता क्रम नमिलेको असन्तुष्टको भनाइ छ । ‘नाम सिफारिस गर्दा सामान्य मान्यता र विधि उल्लंघन गरिएको छ । त्यसलाई सच्याउनुपर्ने आन्दोलनको माग हो,’ यसैगरी अनशनमा बसेको राजपाका अर्का नेता मनिष मिश्रले भने ।

राजपाको सूचीमा आठौं नम्बरमा लीलाराम भण्डारी, नवौंमा किरनकुमारी यादव, दसौंमा लक्ष्मण यादव, ११ औंमा खातुन राई, १२ औंमा श्रीमान् नारायणको नाम छ । यसैगरी १३ औंमा गजाधर यादव, १४ औंमा अर्जुन उप्रेती, १५ औंमा इन्दिरा झा र १६ औंमा निलम बर्माको नाम सिफारिस गरिएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम पहिलो नम्बरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed