![]()
नयाँदिल्ली,२ कार्तिक ।
भारतका राजनीतिक दलहरु लागातार धनी हुँदै गएका छन् । ११ वर्षको अवधिमा सात सय प्रतिशतको वृद्धि दरले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा धनी पार्टी बनेको बीबीसीले उल्लेख गरेको छ । एसोसिएसन अफ डमोक्रेटिक रिफम्र्स (एडीआर) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्ला ११ वर्षमा राजनीतिक दलहरुको बचत राशी (रिजर्भ फण्ड) मा वृद्धि भएको छ । कूल सम्पतिमा सम्पूर्ण तिरोतारो पछि पार्टीसँग बचेको रकमलाई रिजर्भ फण्ड भनिन्छ ।
प्रतिवेदन अनुसार सन् २०१४–०१५ मा भाजपा सरकारमा आएपछि उसको वार्षिक आयमा वृद्धि हुन सुरु भएको हो । यसअघिसम्म कांग्रेस धनी पार्टीहरुको शिर्ष स्थानमा थियो । भाजपाले सन् २०१५–०१६ मा पार्टीको कुल सम्पति ८९४ करोड बताएको छ । जसमा उसले २४ करोड तिर्नुपर्ने रकम देखाएको छ । जस अनुसार भाजपासँग ८६८ करोड रुपैयाँ रिजर्भ फण्ड छ ।
यस्तै कांग्रेसको कुल सम्पति ७५८ करोड रुपैयाँ रहेको छ । तर ३२९ करोड रुपैयाँ तिर्नुपर्ने देखाएको कांग्रेस रिजर्भ फण्डमा सत्तारुढ भाजपाभन्दा पछाडि देखिएको छ । तेस्रो धनी दलका रुपमा देखिएको माक्र्सवादी कम्युनिष्ट पार्टीको रिजर्भ फण्ड ४३२ करोड बताइएको छ ।
भारतका सम्पूर्ण दलले सार्वजनिक गरेको सम्पत्तिमध्ये ५९ प्रतिशतलाई अन्य सम्पतिका रुपमा देखाइएको छ । जुन सम्पत्तिका बारेमा पार्टीहरु बाध्य हुँदैनन्, त्यसलाई अन्य सम्पति भनिन्छ ।


