![]()
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती उत्पन्न भएको बताउनु भएको छ । नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले हालै एमाले र माओवादी केन्द्रको नेतृत्वमा बनेको बामगठवन्धन लोकतन्त्र मास्ने उद्देस्यले निर्माण भएको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो , “कम्युनिष्टहरु प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन, यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ ।”
प्रधानमन्त्री देउवाले लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै लोकतन्त्रलाई जोगाउन कांग्रेस एकजुट हुनुपर्ने बताउनुभयो । “लोकतन्त्र सिध्याउनु भनेको कांग्रेसलाई सिध्याउनु हो,” देउवाले भन्नुभयो ।
प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जोगाउने काम नेवि संघको भएको धारणा राख्नुभयो ।
देशभरबाट भेलामा भाग लिन राजधानी आएका नेवि संघका सयौँ नेता कार्यकर्तालाई कांग्रेस नेता प्रदीप गिरी, महेश आचार्य, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।


