![]()
काठमाडौ,३१ असोज ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौ क्षेत्र नम्बर ६ बाट उम्मेद्वार बन्ने निश्चित भएका चर्चित तथा युवा नेता हिमाल शर्मालाई विजयी बनाउन काठमाडौ क्षेत्र नम्बर ६ का एमाले र माओवादी केन्द्रका स्थानीय तहका नेता संयुक्त चुनावी रणनीतिमा जुटेका छन् । माओवादी केन्द्रबाट युवा नेता हिमाल शर्मा प्रतिनिधिसभा निर्वाचनको लागि क्षेत्र नम्बर ६ बाट सर्वसम्मत सिफारिस हुनुभएको थियो । यद्धपि एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि उक्त क्षेत्रमा कुन पार्टीवाट उम्मेद्वार बनाउने भन्ने अन्यौल सृजना भएको थियो । तर क्षेत्र नम्बर ६ माओवादी केन्द्रको भागमा पर्ने भएपछि र सोहि क्षेत्रबाट चुनाव लड्दै आउनुभएका एमालेका युवा तथा प्रभावशाली नेता योगेश भट्टराई ताप्लेजुङबाट चुनाव लड्ने पक्का भएपछि माओवादी केन्द्रका युवा तथा प्रभावशाली नेता हिमाल शर्माको लागि बाटो खुलेको हो ।
स्थानीय,क्षेत्रिय र जिल्ला कमिटीले हिमाल शर्माको नाम सर्वसम्मत सिरफारिस गरेपछि उम्मेद्वारमा सिफारिस शर्मा चुनावी अभियानमा जुटिसक्नुभएको छ । उहाँले उक्त क्षेत्रका एमालेका नेता तथा कार्यकर्तासंगको छलफललाई घनिभूत बनाउनुभएको छ । युना नेता भट्टराईले उक्त क्षेत्र छोड्ने भएपछि केहि निराश भएका एमालेका कार्यकर्ता अर्को युवा तथा प्रभावशाली नेता हिमाल शर्मालाई उम्मेद्वार पाएपछि निकै उत्साहि भएका छन् । यति बेला आफ्ना उम्मेद्वार शर्मासहित माओवादी र एमालेका नेता तथा कार्यकर्ताहरु संयुक्त चियापान,छलफल लगायतका चुनावी कार्यक्रममा एक ढिक्का भएर जुटिरहेका छन् । उक्त क्षेत्रका एमाले र माओवादी केन्दूका नेता तथा कार्यकर्ताहरु निकै उत्साहि भएर चुनावी अभियानमा जुटिसकेका छन् । अघिल्लो चुनावमा दुई जना प्रभावशाली युवा नेताहरु एकै क्षेत्रबाट चुनाव लडेकाले मत बाँडिएको र वामपन्थीकै मत विभाजन हुँदा हार बेहोर्नु परेको भन्दै उक्त क्षेत्रका नेता तथा कार्यकर्ताहरु यस पटक अघिल्लो चुनावको समेत क्षतिपूर्ती असुल्ने गरी निर्वाचनमा विजयी हुने बताउँदै आएका छन् ।
यसैबीच यसअघिका चुनावमा यसै क्षेत्रबाट उम्मेद्वारी दिँदै आउनुभएका नेकपा एमालेका प्रभावशाली नेता योगेश भट्टराईले काठमाडौ क्षेत्र नम्बर ६ का उम्मेद्वार हिमाल शर्मालाई शुभकामना दिईसक्नु भएको छ । नेता भट्टराईले क्षेत्र नम्बर ६ का उम्मेद्वार शर्मालाई विजयी गराउन आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ । यता,प्रतिनिसिधसभा सदस्यका उम्मेद्वार हिमाल शर्माले भनेः‘एमालेका प्रभावशाली नेता योगेश जि संग छलफल भईसकेको छ ,उहाँको तर्फवाट मैले पूर्ण सहयोग पाउनेछु । उहाँले शुभकामना दिईसक्नुभएको छ ।’
२०७० सालको निर्वाचनमा यो क्षेत्रमा एमालेका उम्मेद्वार योगेश भट्टराई कांग्रेसका उम्मेद्वार भिमसेन प्रधानसंग थोरै मतले पराजित हुनुभएको थियो । २०७० सालमा पनि यसै क्षेत्रबाट उम्मेद्वार हुनुभएका हिमाल शर्मा पनि थोरै मतले मात्र पछाडी पर्नुभएको थियो । तर,पराजित भएपनि एमाले माओवादी केन्द्रका उम्मेद्वारले पाएको मतलाई जोड्ने हो भने कांग्रेसका उम्मेद्वारको भन्दा निकै माथी मत परिणाम आउँछ । अहिले एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल छ । यसैले पनि काठमाडौ क्षेत्र नम्बर ६ मा दुई वाम दलको मत हेर्दा वामपन्थी दलका उम्मेद्वार अर्थात हिमाल शर्मा अत्यधिक मतले विजयी हुने निश्चित छ ।


