Breaking News.... EverestOnlineKhabar
June 25, 2026

गठबन्धन घोषणा भएको १ साता भित्रै वाम गठबन्धनमा खटपट सुरु

Loading

काठमाडौ,२७ असोज ।
अहिले चुनावी तालमेल र निर्वाचनलगत्तै पार्टी एकताकै महाअभियान घोषणा गरेको वाम गठबन्धनभित्र एक साताभित्रै खटपट सुरु भएको छ । चुनावी तालमेलमा निर्वाचन क्षेत्र भागबन्डाको विवादका कारण नयाँ शक्तिले गठबन्धन छोड्ने चेतावनी दिएको छ ।
आफ्नो पार्टीलाई एमाले–माओवादीले अपहेलित गर्न खोजेको निष्कर्षसहित उसले निर्वाचनमा सम्मानजनक व्यवस्थापन नगरिए गठबन्धन छोड्ने चेतावनी दिएको हो । यस्तो जानकारी नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले बिहीबार एमाले–माओवादीका अध्यक्षलाई नै दिएका छन् । भट्टराईले बिहीबार बेलुकी एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेटेर आफ्नो लागि गोरखा क्षेत्र २ दिनुपर्ने र स्थानीय तहमा नयाँ शक्तिले सम्मानजनक मत ल्याएका अन्य क्षेत्र पनि आफ्नो पार्टीलाई दिएर सम्मानजनक व्यवहार देखाउनुपर्ने माग गरेका हुन् ।
भट्टराईनिकट स्रोतका अनुसार दाहाल–ओली दुवैले यस विषयमा भट्टराईलाई आवेग र उत्तेजित अवस्थामा नआइहाल्न आग्रह गरेका छन् । माओवादीले गोरखा २ नछोड्ने अडान लिँदै भट्टराईलाई गोरखाबाहेक अन्यत्र जिल्ला रोज्न भनेपछि नयाँ शक्ति गठबन्धनसँग झस्किएको हो ।
माओवादीले गोरखा २ मा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय नै गरिसकेको छ ।माओवादी केन्द्रका एक नेताले भनेः‘पार्टीले गोरखाको दुईवटै क्षेत्र नछोड्ने निर्णय नै गरेको छ, अझ २ नम्बरमा त वरिष्ठ नेता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ, यो क्षेत्र बाबुरामलाई माओवादीले छोड्न सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed