![]()
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत छैटौं चरणको खेलमा नेपालले शुक्रबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ । हङकङको मिसन रोड ग्राउण्डमा हुने खेलमा नेपालले कुनैपनि हालतमा जित हासिल गर्नुपर्नेछ ।
सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि पनि नेपाललाई च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । त्यसैले नेपालको लागि हङकङसँगको खेल निकै महत्वपूर्ण रहेको छ । अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हासिल गर्नुपर्ने चुनौती छ ।
नेपालले नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा नेपाल र हङकङ भिडदैछन । नेपालका मध्यक्रमका भरपर्दा ब्याटसम्यान शरद भेषवाकर बिरामी भएपछि नेपाली टोलीमा केही चिन्ता थपिएको छ । उनी खेल्न नसक्ने भएपछि उनको स्थानमा नरेश बुढा ऐरलाई बोलाइएको छ ।
हङकङको लागि पनि यो त्यतिकै महत्वपूर्ण खेल हो । हङकङ पनि अन्तिम चारमा स्थान बनाउन संघर्षरत छ । नेपालले दोस्रो खेल हङकङसँग आइतबार खेल्नेछ । च्याम्पियनसिपको अन्तिम सातौं राउण्डमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।
जारी च्याम्पियनसिपमा नेपाल पटक पटक अभागी राष्ट्रको रुपमा परिचित हुँदै आएको छ । नेपाल कमजोर राष्ट्र भने होइन । झिनो अन्तरले पराजित हुँदा नेपालको अंक खस्किएको हो । यसअघि भएको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग ३ रनले पराजित भएको थियो । त्यस्तै, पपुवा न्युगिनीसँगको दुबै खेलमा जित नजिक पुगेर पहिलो खेल २ विकेटले र अर्को खेल ३ विकेटले हारेको थियो ।
अंक तालिकामा नेपाल छैटौं स्थानमा छ भने हङकङ चौथो स्थानमा छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुँदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट ११ अंक रहेको छ । तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । तेस्रो स्थानमा स्कटल्याण्ड र चौथो स्थानमा केन्या रहेको छ ।


