Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

बिबिसि । एउटा नयाँ अनुसन्धान अनुसार बितेको चार दशकमा बालबालिका र किशोरकिशोरीमा मोटोपनाको मात्रा दश गुणाले बढेको छ जसको अर्थ हुन्छ विश्वभर १२ करोड ४० लाख केटाकेटीहरु असाध्यै मोटा छन् । ‘द ल्यान्सेट’ भन्ने जर्नलमा प्रकाशित विश्लेषण यस प्रकारको सबैभन्दा ठूलो हो र यसले २०० भन्दा बढी देशहरुमा मोटोपनाको अध्ययन गरेको थियो ।

ब्रिटेनमा ५ देखि १९ उमेर समूहका केटाकेटीमा प्रत्येक १० मा एकजनामा मोटोपना देखियो । मोटोपना भएका बच्चाहरु वयस्क हुँदा पनि मोटा नै हुने सम्भावना हुन्छ र उनीहरुमा गम्भीर खालका स्वास्थ्य समस्या देखिने विज्ञहरुले बताएका छन् ।

विश्व मोटोपना दिवसको सन्दर्भमा पारेर ल्यान्सेटले यो विश्लेषण सार्वजनिक गरेको हो । ‘ अनुसन्धाताहरुले मोटोपनाका कारण लागेको स्वस्थ्य समस्या समाधानकालागि सन् २०२५ बाट प्रत्येक वर्ष ९ सय २० अर्ब पाउण्ड बढ्ने भन्दै सतर्क गराएका छन् ।

उच्च आम्दानी भएका ब्रिटेनसहितका युरोपेली मुलुकहरुमा बाल मोटोपना दर स्थापित हुन थालेको देखिएपनि विश्वका अन्य देशहरुमा पनि सतर्क हुनुपर्ने गरी मोटोपना बढिरहेको उक्त अनुसन्धानका प्रमुख तथा इम्पेरियल कलेज लण्डनका प्राध्यापक मजिद इज्जतीले बताए । मोटो बनाउने सस्ता खानाहरु जताततै पाइनु नै मोटोपनाको एक प्रमुख कारण भएको अनुसन्धानकर्ताहरुको ठम्याइ छ ।

पूर्वी एशियाका बालबालिका र किशोरकिशोरीमा धेरै संख्यामा मोटोपना बढेको देखिएको छ । चीन र भारतमा हालैका वर्षहरुमा मोटोपनाको दर उल्लेख्य मात्रामा बढेको छ । पोलिनेसिया र माइक्रोनेसियामा जनसंख्या मध्य करिब आधा बालबालिका र किशोरकिशोरीमा बढी तौल वा मोटोपना देखिएको छ जुन विश्वको सबैभन्दा उच्च दर हो ।

अनुसन्धानकर्ताहरुले यदि यही प्रवृत्तिले निरन्तरता पाए मोटोपना कम वजन भन्दा छिट्टै बढी सामान्य हुनेछ । कम वजन भएका बालबालिकाहरुको संख्या सन् २००० यता क्रमशः घट्दै गइरहेको छ ।

कमवजन र मोटोपना
सन् २०१६ मा १९ करोड २ लाख बालबालिकाहरुमा कम वजन देखिएको थियो जुन अझै पनि मोटोपना भएका बालबालिकाहरुभन्दा उल्लेख्य रुपमा बढी हो । तर अब त्यो प्रवृत्तिमा परिवर्तन हुने देखिएको छ ।

पूर्वी एशिया, ल्याटिन अमेरिका र क्यारेबियन देशहरुले केही दशकको अवधीमा कमवजनबाट मोटोपनामा परिवर्तन भएको देखेका छन् ।
विश्वभर, सन् २०१६ मा थप २१ करोड ३ लाख बालबालिकाहरुमा ज्यादा तौल देखियो तर त्यो मोटोपनाका लागि तोकिएको सीमाभन्दा कम नै हो । सहायक अनुसन्धाता तथा लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका डाक्टर ह्यारी रटरले यो ठूलो समस्या भएको र थप खराब हुने बताए ।

आह्वान
विश्व स्वास्थ्य संगठनकी डाक्टर फियोना बुलले क्यालोरी धेरै भएको र पोषण कम भएको खानामा कमी ल्याउने कदम चाल्न र शारीरिक व्यायमलाई थप प्रोत्साहन गर्न आह्वान गरेकी छन् ।

अहिलेसम्म विश्वभर जम्मा २० वटा देशहरुले मात्रै चिनीको मात्रा बढी भएको पेय पदार्थमा थप कर लगाएका छन् ।
ब्रिटेनको जन स्वास्थ्यकी प्रमुख पोषणविद् डा. एलिसन टेडस्टोनले भनिन, “हाम्रो चिनीको मात्रा कम गर्ने कार्यक्रम र सरकारको चिनीबाट उठाउने कर विश्वभर बढीरहेको छ । तर एउटा पुस्ताको चुनौतीसँग झुध्ने लामो यात्राकालागि यो एउटा शुरुवात मात्रै हो ।“

“प्रमाण स्पष्ट छ, मानिसहरुलाई के गर्नुपर्छ भनेर मात्रै काम बन्दैन । शिक्षा र सूचना महत्वपूर्ण हो र कम क्यालोरी भएका स्वस्थ खानेकुराहरु खानका लागि गहिरा कदमहरु आवश्यक छन् ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed