![]()
काठमाडौं । नेपाली कांग्रेसले संसदीय बोर्ड गठन गरेपछि मात्रै प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवार चयन गर्ने भएको छ । ११ सदस्यीय संसदीय बोर्ड गठन भएपछि त्यही बोर्डले उम्मेदवार चयन गर्ने भएको हो । पार्टीको बिधानमा पदाधिकारी र बढीमा ८ मनोनित सदस्य गरी १४ सदस्यीय संसदीय बोर्डको व्यवस्था भएपनि पदाधिकारीमा ३ जना नियुक्त गर्न बाँकी रहेकाले हाललाई ११ सदस्यीय बोर्ड गठन हुन लागेको हो ।
कांग्रेसमा उपसभापति, महामन्त्री र सह–महामन्त्रीको पद रिक्त छ । बिधानको व्यवस्था अनुसार बढीमा ८ मनोनित सदस्यमात्रै बोर्डमा राख्न पौडेल समूहले दबाब दिएपछि सभापति देउवा त्यसमा राजी भएको बताइएको छ । बिधानले पदाधिकारीसहित १४ को व्यवस्था गरेकाले बोर्डलाई पूर्णता दिनुअघि पदाधिकारी नियुक्तिको दबाब देउवालाई परेको छ । संसदीय बोर्ड गठनमा ढिलाई भएपछि २७ गतेभित्रै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नेको टुङ्गो लगाउन कांग्रेसलाई सकस भएको छ ।
लोकतान्त्रिक गठबन्धनमा रहेका दललाई छुट्याउने सिट संख्याका बारेमा समेत टुङ्गो लाग्न बाँकी भएकाले कंग्रेसले उम्मेद्वारको संख्या र नामावलीका विषयमा विस्तृतमा छलफल गरेको छैन । जिल्लाबाट सिफारिश नामलाई आधार मानेर संसदीय बोर्डले उम्मेद्वारबारे अन्तिम निर्णय लिनेछ ।


