![]()
काठमाडौ,२३ असोज ।
गठबन्धन बनाएर मुलुकको राजनीति ध्रुवीकृत गर्ने दिशामा लागेका लोकतान्त्रिक र बाम दुबै गठबन्धन आसन्न निर्वाचनका लागि सीटको भागबण्डा गर्न नसकेर सकसमा परेका छन् । कांग्रेससँग सत्ता साझेदारी गरिरहेको माओवादी केन्द्रलाई पार्टी एकतासम्म गर्ने अभिलाषा देखाउँदै कांग्रेस कित्ताबाट खोस्दै चुनावी तालमेल गर्ने निर्णय एमालेले गरेपछि कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धनको प्रयास थालेको थियो ।
मुलुकका दुई ठूला दलको नेतृत्वमा अलग अलग गठबन्धन घोषणा गरिए पनि आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सीटमा गठबन्धनकारी दलको चित्त बुझाउनु दुबैका लागि फलामे चिउरा चपाउनुसरह बनेको देखिएको छ । आइतवार नै सीट बाँडफाँड सकाउने भनेको वाम गठबन्धन अझै टुंग्गोमा पुग्न सकेको छैन भने लोकतान्त्रिक गठबन्धनमा त अरु दलले नसोचेको ढंगले सीट दावी गरेपछि नेतृत्वकर्ता कांग्रेस झस्किएको छ । तराई–मधेशलाई आफ्नो आधार मान्ने कांग्रेसलाई मधेशलाई नै केन्द्र बनाएर राजनीति गरिरहेका दुई दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले प्रतिनिधि सभातर्फ ५५ सीट दाबी गरेपछि निल्नु न ओकल्नुको अवस्था आएको हो ।
लोकतान्त्रिक गठबन्धनमा आवद्ध भनिए पनि तराईमा साझा उम्मेदवार उठाउने अलग्गै सहमति गरेका राजपा र संघीय फोरमले ५५ सीट मागेपछि कार्यदलमा रहेका कांग्रेस नेताहरुले यो विषय आफ्नो तहबाट टुंग्याउन नसकिने भन्दै शीर्ष नेताको तहमा पुर्याएका छन् ।
कार्यदलबाहेक राजपा नेताहरु र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवबीच पनि कांग्रेस नेताहरुले छलफल गरेपनि सहमति बन्न सकेको छैन । दुई दलले प्रदेश २ मा मात्र ३२ मध्ये २४ सिट आफूहरुले पाउनु दावी गरेका छन् ।
यस्तै, राजपा र फोरमले प्रदेश सभामा पनि प्रत्यक्षतर्फ देशभरका ३३० मध्ये १३१ सिटमा दावी गरेको छ । यो दावीपछि कांग्रेस झस्किएको हो । त्यसमा दुई राप्रपाले देशभरबाट १५ सीट आफूलाई छाड्नुपर्ने दावी गरेका छन् । उता, एमाले र माओवादी केन्द्रले पनि सीट बाँडफाँड गर्न सकेका छैनन् । दुबै दलले ६० र ४० प्रतिशतका आधारमा सीट मिलाउने समझदारी गरेपनि नयाँशक्तिले आफूलाई १५ प्रतिशत सीट दावी गरेको छ । तीनै दल निष्कर्षमा पुग्न सकेका छैनन् । आज बस्ने बैठकले सीट बाँडफाँडको खाका ल्याउन सक्ने एमाले महासचिव इश्वर पोखरेलको आशा छ ।


