![]()
काठमाडौ,२३ असोज ।
एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र एकता घोषणापछि मुलुकको राजनीतिक थप धमिलिएको छ । लोकतान्त्रिक शक्ति र वामशक्तिबीच धु्रविकरण भएपछि आगामी मंसिरमा घोषणा गरिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुनेमा शंका उत्पन्न हुन थाmेको छ । वामशक्ति र लोकतान्त्रिक शक्ति एक–अर्कोलाई कमजोर बनाउन लागिरहेका छन् ।
यसैबीच, सत्तारुढ नेपाली कांग्रेसले एमाले र माओवादीबीच भएको एकतालाई बदनाम गर्दै अगाडि बढ्ने रणनीति अख्तियार गर्ने भएको छ । प्रमुख विपक्षी एमालेले सतारुढ घटक माओवादीसँग पार्टी एकता नै गर्ने गरी चुनावी तालमेलको घोषणा गरेपछि कांग्रेसले त्यसलाई कसरी प्रतिवाद गर्ने भन्नेमा आन्तरिक विमर्श तीव्र पारेको छ ।
वाम गठबन्धन घोषणा भएलगत्तै लोकतान्त्रिक शक्तिबीच गठबन्धन बनाउन हतारिएको उसले त्यसको गृहकार्यसमेत तीव्र रूपमा अगाडि बढाइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले वाम एकतालाई संविधान कार्यान्वयनका लागि ठूलो चुनौतीको रूपमा लिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए ।
विपक्षी दलसँग औपचारिक गठबन्धनमा बसेपछि कांग्रेसले माओवादीका मन्त्रीलाई हटाउने तयारीसमेत अगाडि बढाएको छ । विपक्षी गठबन्धनमा गइसकेको माआवादीकै तर्फबाट वर्तमान सरकारमा गृहमन्त्रीसमेत छन् । कांग्रेसले विपक्षी खेमालाई गृहमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी दिएर निर्वाचनमा जान उपयुक्त नहुने निष्कर्ष निकालिसकेको छ । माओवादी मन्त्री हटाएर त्यसमा राप्रपाको मन्त्री नियुक्त गर्न कांग्रेस नेताहरुले देउवालाई सुझाव दिएका छन् ।
कांग्रेसले गठबन्धनका लागि विभिन्न दलसँग छलफल गरेपछि पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो रणनीति बनाउन आइतबार दिउँसो समेत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यलाई बालुवाटार डाकेर बैठक गरेको छ ।


