![]()
काठमाडौ,१८ असोज ।
आतंकवाद, उग्रवाद र अवैध मुद्रा, लागूपदार्थ ओसारपसारलगायत तस्करी नियन्त्रणका लागि भारतले नेपाल–भारत सीमा नियमनमा जोड दिने भएको छ । नेपाल–भारत‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) को आगामी पाँचौं बैठकमा नेपाल–भारत सीमा नियमन र सीमा सुरक्षा प्रमुख एजेन्डा बनाउँदै भारतीय पक्षले सीमा नियमनबारे आफ्नो धारणा राख्ने तयारी गरेको हो ।
नेपाल र भारतबीच रहेका सानाठूला विभिन्न ७० चेक पोइन्ट .(नाका) नियमन गर्ने विषयमा केन्द्रित प्रस्तुति गर्ने तयारीमा भारतीय पक्ष रहेको उच्च कूटनीतिक स्रोतले जनायो । ईपीजीले सुझाव मात्र दिने भए पनि यस्तो प्रस्तुति अर्थपूर्ण रहने अधिकारीहरूको भनाइ छ । अवैध आउजाउ नियमन गर्ने भारतीय चासोमा नेपाली पक्ष पनि सकारात्मक रहेको स्रोतले जनायो ।
ईपीजीको पाँचौ बैठक आउँदो शनिबार र आइतबार काठमाडौंको र्याडिसन होटलमा बस्दै छ । त्यसका लागि शुक्रबार भारतीय टोली काठमाडौं उत्रनेछ । टोलीका एक सदस्य जयन्त प्रसाद भने अस्वस्थताका कारण बैठकमा सहभागी हुनेछैनन् । माइनर हार्ट अट्याकपछि स्वास्थ्य लाभ गरिरहेका पूर्वराजदूत जयन्त अस्वस्थ भएकै कारण बैठक एक महिना ढिलो बस्न लागेको हो ।


