![]()
काठमाडौं । नेपाल सरकार र आन्दोलनरत चिकित्सकहरुबीच सहमति हुन नसकेपछि नेपाल चिकित्सक संघले आन्दोलन जारी रहने तर त्यसबाट दशैंको बेला स्वास्थ्य सेवा प्रभावित नहुने जनाएको छ ।
संघले केही दिनदेखि स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिलाई ’जेल विथआउट बेल’ अर्थात धरौटी विना कैद सजाय दिइनुपर्ने लगायतका माग राख्दै देशैभरका अस्पतालमा बहिरंग सेवा बहिष्कार गरिरहेको छ । संघले भनेको छ “हामीले गरेको आन्दोलनले अत्यावश्यक सेवा प्रभावित हुँदैन र ’एमरजेन्सी’ कक्षबाट दशैंका बेला पनि हाम्रो सेवा जारी रहनेछ ।“
चिकित्सकहरुले बहिरंग सेवा बन्द गरेको बेला चितवनको एक अस्पतालमा एक चिकित्सकमाथि हातपात भएपछि तनाव झनै बढेको छ ।
स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले चिकित्सकहरुलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था मिलाइएकाले काममा फर्कन आग्रह गरेका छन ।
चिकित्सक संघका महासचिव डाक्टर लोचन कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा गएकोले अन्योल बढेको र उनी फर्किए लगत्तै माग सम्बोधन हुने आशा व्यक्त गरेका छन ।


