![]()
काठमाडौ,११ असोज ।
डाक्टर गोविन्द केसीले तीन दिनदेखिको आमरण अनसन स्थगित गरेका छन् । चिकित्सा शिक्षा विधयेक संसदबाट पारित नभएपछि तत्कालका लागि असोज १९ गतेसम्मका लागि अनसन स्थगित गरेको डाक्टर केसीले बताए । चिकित्सा शिक्षा ऐन पारित नगरी संसद हाललाई स्थगित भएको तथा नेपालीको प्रमुख चाड दशैं आएकाले तत्काललाई अनसन तोडेको डाक्टर केसीले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
असोज ९ गते संसदमा नागरिक र विद्यार्थीमुखी नभई माफियामुखी चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएपछि त्यसको विरोधमा ५ बुँदे मागहरु राखेर डाक्टर केसी आमरण अनसनमा बसेका थिए । तर उनले आमरण अनसनमा बसेपछि त्यहि दिन पारित गर्ने कार्यसुची रहेपनि सरकारले विधेयक अघि बढाएको थिएन ।
तर अझै पनि माफियाहरुको स्वार्थमा चिकित्सा शिक्षा ऐन पारित गर्ने प्रयास भइरहेकाले त्यसो हुन नदिन, माथेमा प्रतिवेदन तथा आफ्ना सुझावहरु समेटेर सही रुपमा चिकित्सा शिक्षा ऐन पारित गराउन तथा अन्य मागहरु पूरा गराउनका यही असोज १९ गतेदेखि फेरी आमरण अनसन सुरु हुने पनि डाक्टर केसीले जानकारी दिएका छन् ।


